काठमाडौँ । बेलायती नागरिक बेलायती नागरिक जर्ज ब्यान्ड र जो ब्राउनले कञ्चनजंघा हिमालको आरोहण गरेको ७० वर्ष पुगेको छ । यस अवसरमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले महोत्सव आयोजना गर्ने भएको छ ।
आगामी २०८२ वैशाख ५ देखि ७ गतेसम्म फक्ताङलुङ गाउँपालिका–५, लेलेप ताप्लेजुङमा महोत्सव हुने भएको हो । महोत्सवको ‘लोगो’ र नारा सोमबार सार्वजनिक गरिएको छ ।
महोत्सव संयोजन समितिले ‘कञ्चनजंघा संरक्षण क्षेत्र, प्रकृतिको उपहार: संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ नारासहितको लोगो सार्वजनिक गरेको छ । लोगो सार्वजनिक गर्दै कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
![collage-(26)-1739206728.jpg](https://gurkhamedia.com/uploads/posts/collage-(26)-1739206728.jpg)
महोत्सवमा कञ्चनजंघा क्षेत्रमा रहेका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धनजस्ता गतिविधि समेटिने छन् । भलिबल प्रतियोगितासमेत आयोजना गरिने जनाइएको छ ।
कञ्चनजंघा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूको परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ ।
महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौँमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना गरिने भएको छ । कञ्चनजंघा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर हो ।
सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्यान्ड र जो ब्राउनले पहिलो पटक यस हिमालको सफल आरोहण गरेका थिए ।