पोखरा । चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति पोखराले फागुन ३ गते च्यारिटी डिनर नाइट गर्ने भएको छ। परोपकारी कार्य गर्ने उद्देश्यले पोखरामा पहिलो पटक च्यारिटी डिनर नाइट गर्न लागिएको हो ।
विगतमा चारभन्ज्याङ तमु समाज यूकेले यूकेमा च्यारिटी डिनर नाइट गरी पर्वतको चारभन्ज्याङ क्षेत्रमा स्वास्थ्य, शिक्षा, मानवीय हित, संस्कृति संरक्षण र भौतिक विकासमा टेवा पुर्याउँदै आएको थियो ।
उक्त च्यारिटी डिनर नाइटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहनेछन् । मन्त्री, सांसद एवं जनप्रतिनिधि, गैरआवासीय नेपाली संघ ग्लोबलका अध्यक्ष बद्री केसी, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलगायत विभिन्न देशबाट नेपालका आएका अतिथिलाई विशेष आमन्त्रण गरिएको छ ।
यस्तै, पोखरामा रहेका संघसंस्था, यूके, काठमाडौँ, युरोप, हङकङ, पोखरा, बुटवल चारभन्ज्याङ एवं चारभन्ज्याङ गाउँबाट समेत कार्यक्रममा आमन्त्रित गरिएको छ ।
कार्यक्रम संयोजक चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष बेनकुमार गुरुङका अनुसार कार्यक्रम मनोरञ्जनात्मक बनाउनका लागि कृष्णकुमार गुरुङ गुरुङको संयोजकत्वमा सांस्कृतिक तयारी, कार्यक्रम व्यवस्थित गर्नका लागि आईसीसी महासचिव डिवी गुरुङ, अतिथि स्वागतका लागि आईसीसी उपाध्यक्ष हुमबहादुर गुरुङ, युवा परिचालन संयोजनका लागि शिव घलेलगायत १५ वटा विभिन्न उपसमिति तयारीमा जुटेका छन् ।
आफ्नो गाउँ-ठाँउको विकास र सेवाका लागि यूकेमा मात्रै नभएर नेपालमा पनि च्यारिटेबल संस्कृतिको विकास गराउन पहिलो पटक पोखरामा च्यारिटी डिनर नाइट आयोजना गर्न लागिएको चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष ले.चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
चारभन्ज्याङले यूकेमा वर्षेनी च्यारिटी कार्यक्रम गरी चारभन्ज्याङ गाँउमा मोडलका रूपमा नि:शुल्क गुणस्तरीय सेवाका साथ टेलिमेडिसिन स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । उक्त केन्द्रबाट हजारौँले नि:शुल्क सेवा प्राप्त गरिरहेको उनको भनाइ छ ।
यसरी नै गाँउका हरेक विद्यालयको भौतिक विकास र गुणस्तरीय शिक्षा, छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, सांस्कृतिक एवं सामाजिक धरोहरको संरक्षण र विकास, कृषि तथा पर्यटन पूर्वाधारमा बर्सेनि च्यारिटीबाट सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताए ।