काठमाडौँ । नेपाल भ्रमणमा रहेको तमु धीं यूकेको टोली काठमाडौँ उत्रिएको छ ।
शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीलाई विमानस्थलमा होटल मेसरुम घान्द्रुकका प्रोप्राइटर काजी गुरुङ, गोर्खा हेरिटेज काठमाडौँका प्रोप्राइटर विजय गुरुङसहित शुभचिन्तक र आफन्तजनहरूले स्वागत गरेका थिए ।
तमु धीं यूकेका तेह्रौँ कार्यसमितिका अध्यक्ष जुमकाजी गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङसहित पूर्वअध्यक्ष, ट्रस्टी, सल्लाहकारसहितको टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
त्यसपछि टोलीले तमु बौद्धमा छोटो भेटघाट गरेको थियो । त्यहाँको कार्यक्रमपछि टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएको छ ।
टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ ।
जसअन्तर्गत टोली आइतबार बिहान पोखरा प्रस्थान गर्नेछ । आइतबार नै बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुनेछ ।
फेब्रअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट हुने छ । ५ फेब्रुअरीमा सिक्लेस जाने, ६ मा चित्रे, ८ मा राम्जा आर्थर, ९ मा खाल्ट र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुन: पोखरा फर्किनेछ ।
यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने, १२ फेब्रुअरीमा नौलो घुम्ती, सहारा एकेडेमी, तम धीं यूकेलाई सम्मानका लागि आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुने छ । सोही दिन तमु धीं आमा समूह भने स्याङ्जातर्फ जाने छ ।
यस्तै १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने र १५ फेब्रुअरीमा पोखरा फिर्ता भएर तमु धीं नेपालसँग भेटघाट गर्नेछ ।
१५ फेब्रुअरीमा पोखरा म्याराथन, च्यार भन्ज्याङ तमु समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम छ । यस्तै १६ फेब्रुअरीमा गल्याङ जाने, १७ मा लमजुङ भ्रमण गर्ने र १९ मा काठमाडौं पुग्ने र एकरात बसाइपछि २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको छ ।