कुवेत । निरेम प्रोडक्सनको आयोजना र बीईसी एक्सचेन्जको मुख्य प्रायोजनमा हुन लागेको निरेम सांगीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ, हिमाल सागर र कवि फकिर गुन्जिने भएका छन् ।
आगामी २१ फ्रेब्रुअरीका दिन कुवेतको जिलिबस्थित एस्पायर स्कुलमा हुने सांगीतिक उत्सवमा यी कलाकारको प्रस्तुति रहने भएको हो । नेपाली संगित, कला र साहित्यलाई प्रवासमा रहेका नेपाली समुदायका श्रमिकसँग जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा गायिका गुरुङले आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछिन्। युवा तन्नेरीहरूका लोकप्रिय गायक हिमाल सागरको पुराना तथा सदाबहार गीत प्रस्तुत हुनेछ । कवि तथा पत्रकार सुरेश बुढाथोकी ‘फकिर‘ को प्रवास विशेष कविता र गजलको प्रस्तुति रहने आयोजक निरेमले जनाएको छ ।
गुरुङको ‘गाइने दाजैले सारङ्गी रेट्दामा’, ‘नाम के हो’, ‘खनिहो यामू’लगायत गीत चर्चित छन् । युवामाझ लोकप्रिय गायक हिमाल सागरको ‘न मैले लेखेँ’, ‘मेरो माया मारेपछि’, ‘ए हो र माया’ गीत चर्चित छन्। कार्यक्रमलाई फरक प्रस्तुतिले समेट्ने उद्देयसहित कवि तथा लेखक फकिरको कविता र गजलको प्रस्तुति पनि समेट्न लागिएको निरेम सांगीतिक उत्सव–२०२५ का संयोजक सुरेन्द्र लिम्बूले बताए ।
सांगितिक उत्सवमा १ हजारभन्दा बढी नेपाली संगीत तथा साहित्यप्रेमी दर्शको उपस्थिति रहने अपेक्षा गरिएको छ । कार्यक्रममा मादक पदार्थसहित कुवेतको कानुनले वर्जित गरेका पदार्थ सेवन नगरी सभ्य तथा मर्यादित तरिकाले उपस्थित भई मनोरञ्जन लिन संयोजक लिम्बूले आग्रह गरेका छन् ।
विगतमा रक्तदानलगायत सामाजिक कार्य, समस्यामा परेका श्रमिकको उद्धार तथा राहत, खेलकुद, सूचना तथा सञ्चारमा सक्रिय निरेमले यसचोटि स्थानीय पर्व ‘हालाफेव तथा भ्यालेन्टाइन डे’को अवसर पारेर सांगितिक उत्सव आयोजना गर्न लागेको हो ।
बिईसी एक्सचेन्ज मुख्य प्रायोजक रहेको उत्सवको जजिरा एयरलाईन्स एयर पार्टनर, डाम्पा चौतारी रेस्टुरेन्ट हिमालयन रेस्टुरेन्ट, वक एन्ड गो रेस्टुरेन्ट, अरबिका कफी हाउस, एसियन चुलो, नमस्ते रेस्टुरेन्ट र एभरेस्ट रेस्टुरेन्ट हस्पिटालिटी पार्टनर रहेको छ । त्यस्तै मनकामना एयर कार्गो, एल आर लेडिज सलुन कार्गो र ब्युटी पार्टनरका रूपमा छन् ।