लन्डन । मञ्जुश्री माने मोन्लोम तमू आमा समूह आशफोर्ड केन्टको चौथो कार्यसमिति चयन भएको छ ।
गत शनिबार १८ जनवरी २०२५ मा समूहको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट बालकुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । कार्यसमिति उपाध्यक्षहरुमा सकुन्तला गुरुङ, दिलु गुरुङ, सचिव आशा गुरुङ, सहसचिव प्रेमकुमारी गुरुङ, कोषाध्यक्ष हेमकुमारी गुरुङ र सहकोषाध्यक्ष रुपा गुरुङ चयन भए ।
माने कोर्डिनेटर तारा/डोल्मा गुरुङ, सहमाने कोर्डिनेटर बन्दना गुरुङ, फुड आईसी उमा गुरुङ, सहफुड आईसी सारा गुरुङ, कल्चरल सेक्रेटरी उमादेवी गुरुङ, सहकल्चरल सेक्रेटरी निशा गुरुङ तथा कार्यसमिति सदस्यहरुमा भीमप्रसाद गुरुङ (साउण्ड सिस्टम), कमला/प्रेम गुरुङ, रत्न गुरुङ र गोलमान गुरुङ (मिडिया) चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा संरक्षक, सल्लाहकार, सदस्यहरू र शुभचिन्तकहरूको उत्साहजनक सहभागिता थियो । कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने संरक्षक, सल्लाहकार, सदस्यहरू र शुभचिन्तकहरूलाई अध्यक्ष बालकुमारी गुरुङले धन्यवाद दिइन् । यस्तै उनले संस्थापक अध्यक्ष कमला (ज्ञानु) गुरुङ, संरक्षक गणेश गुरुङ र सल्लाहकार टोलीलाई विशेष धन्यवाद दिँदै जसले संस्थालाई धार्मिक र सामाजिक उन्नतिमा निरन्तर प्रोत्साहन दिए, उनीहरुलाई आभार प्रकट गरेकी छन् ।
अध्यक्ष बालकुमारीले चौथो कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै नयाँ नेतृत्वले समूहलाई अझ उचाइमा पुर्याउँदै धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेकी छन् ।
बौद्ध धर्मको आदर्शमा आधारित मञ्जुश्री माने मोन्लोम तमू आमा समूह आशफोर्ड केन्ट सन् २०१३ मा स्थापना भएको हो। स्थापना भएदेखि नै यस समूहले धार्मिक आस्था, तमूहरुको सांस्कृतिक संरक्षण र सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आफ्नो विशेष पहिचान बनाउँदै आएको छ ।
यो संस्थाका संस्थापक अध्यक्ष कमला (ज्ञानु) गुरुङको नेतृत्वमा स्थापना भएको हो । उनको दूरदर्शिता, समर्पण र नेतृत्वले समूहलाई धार्मिक आस्था र परम्पराको प्रतिबिम्बमात्र बनाएको छैन । यसले समुदायलाई एकताबद्ध गर्दै आएको छ । साथै, संरक्षक गणेश गुरुङको मार्गदर्शन र निरन्तर समर्थनले संस्थाको प्रगतिमा अभूतपूर्व योगदान पुर्याएको छ । उनको विचारधारा र शिक्षाले समूहलाई धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिहरूमा प्रेरणा प्रदान गरेको छ ।
समूहको स्थापना बौद्ध धर्मको शिक्षालाई आत्मसात गर्दै धार्मिक परम्परा, सांस्कृतिक पहिचान र सामाजिक सेवामा समर्पित उद्देश्यका साथ भएको हो । संस्था धर्मगुरु खेन रेन्पोछे शिर लामा गुरुङ गुरुको आशीर्वादमा सञ्चालित छ । उनको मार्गदर्शनले संस्था धर्म, करुणा र शान्तिको प्रतीक बनेको छ ।
समूहले केन्टवासी बौद्ध धर्मावलम्बी गुरुङहरूलाई लक्षित गरी समुदायका बौद्ध धर्म, तमू संस्कार र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बनाउँदै सामाजिक सहकार्यको सन्देश दिएको छ ।