लन्डन । कोल्मा बहाकोट समाज यूकेले तमु ल्होसार (१५ पुस) मनाएको छ ।
गत शनिबार ४ जनवरी २०२५ का दिन विविध कार्यक्रमसहित ल्होसार (१५ पुस) मनाइएको हो । ल्होसार कार्यक्रममा प्रमुख अतिथि तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, प्रथम महिला कमलादेवी गुरुङ, विशेष अतिथि मगर संघ यूकेका अध्यक्ष सीता पुन, श्रीमान बब पुन, अतिथिहरुमा बीएफबीएसका डाइरेक्टर योगराज राई, श्रीमती हेलन राई थिए ।
यसैगरी रुपा राना, श्रीमान् होम राना, काठमाडौं बीएफबीएसका म्यानेजिङ डाइरेक्टर विनोदध्वज खड्का, श्रीमती समृद्धि खड्का पनि उपस्थित थिए ।
बिहान १०:३० देखि हल तयार गरेपछि दिउँसो २ बजेबाट सदस्यहरु उपस्थित भएका थिए । ३ बजेपछि लामा गुरु पेम्बा लामा दिल गुरुङबाट ग्रहशान्ति पूजाको लागि कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ र आमा समूहकी अध्यक्ष सरिता गुरुङबाट बत्ती बालेर ग्रहशान्तिको पूजा शुभारम्भ गरिएको थियो ।
ठीक साढे ५ बजे प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङको आगमनपछि ६ बजे कोल्मा बहाकोट समाज यूकेका महासचिव मदन रानाले कार्यक्रम सुरु गरेका थिए । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, मगर संघ यूकेका अध्यक्ष सीता पुन, कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ, बीएफबीएसका डाइरेक्टर योगराज राई, कोल्मा बहाकोट समाज यूकेकी आमा समूह अध्यक्ष सरिता गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।
सोही कार्यक्रमको अवसरमा समाजमा राम्रो काम गरेका दुई जना देव गुरुङ र बालकुमार गुरुङलाई स्पेसल कम्युनिटी अवार्ड प्रमुख अतिथि जुमकाजी गुरुङले दिएका थिए । पूर्वअध्यक्षहरु, प्रमोटरहरु र तमु धीं यूकेका महासचिव डा विशाल गुरुङलाई कम्युनिटी अवार्ड र समाजभित्रका सदस्यहरुले विभिन्न संस्थामा अध्यक्ष पाएकोमा पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको अवधिभर धुमधामका साथ सांस्कृतिक प्रस्तुति रह्यो । सांस्कृतिक सचिव खिम गुरुङले सबैलाई सहयोग पुर्याए भने समाजका सदस्यहरुलाई नास्ताको बन्दोबस्त गंगा गुरूङले गरेका थिए भने कार्यक्रमको अन्त्यसम्म गायक सन्तोष पुन अनि गायिका भवि घर्तीमगरले गीत गाएर भरपुर नचाए ।
अन्त्यमा अध्यक्ष चन्द्र गुरुङले सम्पूर्ण सदस्यहरुलाई ल्होसार पन्ध्र पुस अवधिभर मद्दत दिनेहरुलाई धन्यवाद र भविष्य पनि यसरी नै मद्दत गरिदिनेछ भन्ने आश व्यक्त गरेका थिए । उनले लामा गुरुलाई सहयोग दिने आमा समूहलाई धन्यवाद, सातौं कार्यसमितिलाई धन्यवाद, राफल ड्रमा स्पोन्सर गरिदिने न्यू लक्ष्मी ज्वेलर्सका सञ्चालक लक्ष्मी राई, निता हेयर सेलुनका निता गुरुङलाई विशेष धन्यवाद दिए ।
यस्तै कोल्मा बहाकोट समाज यूकेका निवर्तमान अध्यक्ष अनि सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङलाई पनि समाजप्रति दिएको मद्दतका लागि धन्यवाद दिइएको थियो ।
कार्यक्रममा २ सयभन्दा बढीको उपस्थिति थियो । कोल्मा बहाकोट समाज यूके सन् २००७ मा संस्थापक अध्यक्ष क्याप्टेन रिटार्यड भीमबहादुर गुरुङ र दिलीप गुरुङ एमबीई सरसल्लाहअनुसार ७ वटा गाविसलाई समेटेर स्थापना गरिएको थियो । जसमा कोल्मा बहाकोट, बहाकोट, ओरस्टे, राङ्गभाङ्ग, टक्सार, ठुलाडी र किचनास पर्दछन् ।
कोल्मा बहाकोट समाज यूके च्यारिटी संस्थामा दर्ता पनि भएको छ ।