काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रुसका लागि श्रम स्वीकृति खुलाउन दबाब दिएका छन् । एनआरएनएका अध्यक्ष डा. बद्री केसीसहितको टोलीले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटी रुसको श्रम स्वीकृति खुलाउन दबाब दिएका हुन् ।
‘यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौँ,’ एनआरएनएले शुक्रबार जारी गरेको विज्ञप्तिमा मन्त्री भण्डारीको भनाइ उद्धृत गरिएको छ ।
भिजिट भिसा र श्रम स्वीकृतिमा गएका नेपालीहरू रुस पुगेपछि रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको सार्वजनिक भएपछि सरकारले रुसको लागि श्रम स्वीकृति दिन बन्द गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार २०८० पुस १९ गते वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो । त्यसपछि उक्त रोकिएको श्रम स्वीकृति खुलाउन एनआरएनएले दबाब दिँदै आएको छ ।
शुक्रबार भएको भेटमा अध्यक्ष केसीले तत्कालीन अवस्थालाई ध्यानमा राखी मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
वर्षौदेखि विभिन्न रोजगार, पेसा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रूसमा बसिरहेका हजारौँ नेपालीहरूका लागि सहज रूपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन भेटमा अध्यक्ष केसीले अनुरोध गरेका थिए ।
यसअघि, परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि एनआरएनएका पदाधिकारीले रुसको लागि श्रम स्वीकृति खुलाउन अनुरोध गरेका थिए ।
यस्तै, शुक्रबारको भेटमा अध्यक्ष केसीले इराकको कुर्दिस्तानमा रहेका नेपालीका समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न पनि अनुरोध गरेका थिए ।