काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६३ रुपैयाँ तोकेको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर १५२ रुपैयाँ र तेस्रो वर्गका लागि १५३ रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ ।
त्यस्तै, निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले घटाएको छ ।
साथै, निगमले पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य पनि कायम गरेको छ। निगमका अनुसार अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको प्रतिकिलोलिटर काठमाडौँमा ९६०, पोखरामा ७९६ र भैरहवामा ७७८ अमेरिकी डलर कायम भएको छ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ रुपैयाँ तोकेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत् रहेको जनाएको छ ।