काठमाडौँ । नेपालमा गुरुङ समुदायले गिद्ध वर्गलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै सोमबार तमु ल्होछार भव्य रूपमा मनाएका छन् ।
नयाँ वर्ष सुरु भएको खुसीयालीमा गुरुङ समुदायले देशभर विभिन्न संस्कृति कार्यक्रम गरेर ल्होछार मनाएका हुन् ।
परापूर्वकालमा गुरुङ समुदायले वर्गलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको संखुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले बताए । गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ ।
काठमाडौँको टुँडिखेलमा ल्होछार महोत्सव नै आयोजना गरिएको छ । गुरुङ समुदायका मानिस परम्परागत भेषभुषामा सजिएर तमु कार्यक्रममा सहभागी भएका थिए । आइतबार सुरु भएको महोत्सव मंगलबारसम्म सञ्चालन हुने तमु ह्युला छोंज धीं राष्ट्रिय परिषद्ले जनाएको छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।