पोखरा । तमुहरूको महान् पर्व सप्री ल्हो तमु ल्होछार आगमनको अवसरमा तमु धीं नेपालले १० जना बिरामीलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
तमु धीं नेपालमा स्थापित स्व.मेजर जयबहादुर, स्व.उदयचन्द्र, समाजसेवी मेजरनी रूपकुमारी गुरुङ स्वास्थ्योपचार अक्षयकोषबाट जनही २५ हजार रुपैयाँ दरले उपचार सहयोग रकम हस्तान्तरण गरिएको हो।
सहयोग प्राप्त गर्ने बिरामीमा स्याङ्जाकी तीन वर्षीया बिर्यना गुरुङ, पर्वत फलामखानीकी ३० वर्षीया सुनिता कुमारी बिक, तनहुँका ४६ वर्षीय मीनबहादुर गुरुङ, याङ्जाकोटका ४१ वर्षीय फत्तबहादुर गुरुङ, तनहुँ (युवा समिति) का ३४ वर्षीय विकास गुरुङ, पैयुखोला तमु समाजका ४० वर्षीय ज्योतिकुमार गुरुङ, नादा तमु समाजका ४९ बर्षीया सीता गुरुङ, रुपा–७ की ३८ वर्षीया शिला गुरुङ, रुपा–१ का ६२ वर्षीय प्रेमबहादुर गुरुङ र तमु सहयोग समिति पार्दीका १७ वर्षीय विवश गुरुङ रहेका छन्।
कोषका संस्थापक वरिष्ठ समाजसेवी मेजरनी रूपकुमारी गुरुङ र लक्ष्मी गुरुङले सहयोग हस्तान्तरण गरेका छन्। उनीहरूले स्वास्थ्योपचार कोषका लागि १ करोड १५१ रुपैयाँको कोष तमु धींमा स्थापना गरिदिएका छन्।
कार्यक्रममा तमु धीं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेमबहादुर गुरुङ र तमु समाज इजरायलका प्रमुख संरक्षक डिककुमार गुरुङलाई स्वागत गरिएको थियो।
कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु धीं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेमबहादुर गुरुङ र तमु समाज इजरायलका प्रमुख संरक्षक डिककुमार गुरुङले मन्तव्य राखेका थिए।