काठमाडौँ । नेपालमा पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने भएको छ । साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले बेलुन नेपाल नामक संस्थाले महोत्सव गर्न लागेको हो ।
महोत्सव पुस ९ गतेदेखि नौ दिनसम्म चल्नेछ । महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत ३२ देशको सहभागिता रहनेछ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने यस महोत्सवमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ आयोजना हुनेछ ।
महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गरी पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्नुका साथै साहसिक खेल पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य आयोजकले राखेका छन् ।
महोत्सवमा कूल एक लाख ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको छ । सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ ।
४० मिनेटको उडानमा बेलुनबाट अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ ।