पोखरा । सहारा क्लब हङकङको चौथो अधिवेशनले सरोज गुरुङ (खम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार हङकङमा भएको अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष दीपक गुरुङले जनाए ।
कार्यसमिति उपाध्यक्षमा सुमित्रा गुरुङ र तिलक गुरुङ, महासचिवमा ओमप्रसाद गुरुङ, सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा प्रवीण गुरुङ, सहकोषाध्यक्षमा उर्मिला घले छन् । सदस्यमा सरिता गुरुङ, विकास गुरुङ, राजु गुरुङ (सुपर), प्रदीप गुरुङ, राजु गुरुङ, गमन घले, कपिल गुरुङ, शरद ज्वारचन, पूर्ण गुरुङ (प्रेम), झोना गुरुङ, करना श्रेष्ठ र संगीता गुरुङ चयन भए । रिक्त पदमा पछि मनोनीत हुने छन् ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका सल्लाहकार कानून व्यवसायी देव गुरुङले सहारा क्लब पोखराको सहयोगमा संस्थाले गरेका गतिविधिको प्रशंसा गरे । उनले आसन्न २४ औं आहारारा पोखरा गोल्डकपका लागि थप ५१ हजार रुपैयाँ सहयोगको घोषणासमेत गरे ।
समाजसेवीसमेत रहेका गुरुङले क्लबलाई बर्सेनि सहयोग गर्दै आएका छन् । कार्यक्रममा नेपाली महासंघ हङकङका अध्यक्ष र एआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, सहारा क्लब हङकङका प्रमुख सल्लाहकार दुर्गा गुरुङ (एण्डी) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव कुमार गुरुङले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष सरोज गुरुङ (खम) ले गरेका थिए । निर्वाचन समितिमा दुर्गा गुरुङ, अरेन्द्र गुरुङ र दुर्गा मिलन गुरुङ थिए ।