पोखरा । बगर भाइ खलकको अध्यक्षमा ईश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा यामबहादुर गुरुङ, महासचिवमा मनकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ओमकार गिरी निर्विरोध निर्वाचित भएका हुन्।
यस्तै कार्य समिति सदस्यमा विजया गुरुङ, सन्तोष गुरुङ (धन), ईश्वर गुरुङ (चन्द्र), क्याप्टेन जुमकाजी गुरुङ, राजकुमार गुरुङ, राजेश गुरुङ (राजु), अमित गुरुङ (जोन), भीष्म गुरुङ विशाल र देवी प्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट तथा सदस्यद्धय महेश गुरुङ र दिनेश कुमार श्रेष्ठले शनिबारनै शपथ ग्रहण गराए । निर्वाचित हुँदै अध्यक्ष इश्वरमानले संस्थालाई एकीकृत गरी आर्थिक रूपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले संस्थाको हितका लागि च्यारिटी डिनर, फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पोखरामा विभिन्न संघ संस्था तथा क्लबहरूले गर्ने खेलकुद गतिविधिमा समेत सहयोग गर्ने सुनाए ।
त्यसअघि भएको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका– १ का वडाध्यक्ष साहारा प्रधानले बगर भाइखलक खेलकुदको पर्यायवाची रहेको बताए । खेलकुदको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको संस्थाको नयाँ कार्यसमितिलाई नयाँ कामहरू गर्न अनुरोध गरे ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार तेज गुरुङ, भूपू खेलाडी मञ्चका संस्थापक खड्का रानाभाट, महेश गुरुङ, भानुभक्त अधिकारी लगायतले आफ्नो भनाइ राखेका थिए ।