लन्डन । बर्न्ट ओक नेपाली समाज यूकेको २०औं वार्षिक साधारणसभा ७ डिसेम्बर २०२४ मा भव्य रूपमा सम्पन्न भएको छ ।
समाजको आफ्नै हलमा भएको सभाको अध्यक्षता संस्थाका अध्यक्ष खमिरजंग गुरुङले गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव हेलीशा गुरुङले गरेकी थिइन् । उपाध्यक्ष मुरारी थापाले सभाको सुरुआतमा सदस्यहरूलाई स्वागत गरेका थिए । कोषाध्यक्ष महेन्द्र गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समाजको वित्तीय अवस्थाबारे जानकारी दिए ।
महिला अध्यक्ष मञ्जु गुरुङले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै महिला समूहका उपलब्धि र आगामी योजनाबारे प्रकाश पारिन् । साथै, महिला समूहकी कोषाध्यक्ष पार्वती गुरुङ (लामा) ले समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।
कार्यक्रममा सांस्कृतिक सचिव उमेश खड्काले सारंगीवादक केर्जाङ गुरुङलाई धन्यवाद ज्ञापन गर्दै सांस्कृतिक योगदानको प्रशंसा गरे । साधारणसभामा विगत वर्षको प्रगतिबारे चर्चा गर्दै आर्थिक प्रतिवेदन, सचिवको प्रतिवेदन र आगामी वर्षका कार्यक्रमबारे छलफल गरियो । समाजको दीर्घकालीन योजना र नयाँ कार्यक्रमको सफलताका लागि आवश्यक रणनीति तय गरिएका थिए ।
सभामा भर्खरै मात्र मेजर पदमा पदोन्नति भएकी डक्टर शारदा गुरुङ र अर्थोथेरापिस्ट ग्रजुएट गरेकी सोनी गुरुङलाई पनि सम्मान गरिएको थियो ।
सभामा आजीवन सदस्यहरू, कार्यसमिति सदस्यहरू र समुदायका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । सबैले समाजको प्रगतिमा आफ्नो योगदानको प्रतिबद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष खमिरजंग गुरुङले सबै सदस्यहरूलाई धन्यवाद दिँदै समाजलाई अझ उचाइमा पुर्याउन सामूहिक प्रयासको महत्त्वमा जोड दिए । साधारणसभा सकारात्मक ऊर्जा र आगामी योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ सम्पन्न भएको छ ।