लन्डन । तमु प्ये ल्हु संघ युकेले बेलायतको रेडिङमा सामुदायिक भवन खरिद गरेको छ ।
सामुदायिक भवन तथा क्होँईबों निर्माण योजनाअन्तर्गत तमु प्ये ल्हु संघले शुक्रबार घर किनेको हो । नयाँ घरको चाबी शुक्रबार बुझेको संघका अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमुले जानकारी दिए । लामो समयको पर्खाइलाई अन्त्य गर्दै संस्थाको भवनको चाबी लिन सफल भएकोमा अध्यक्ष क्या (रि) डेमबहादुरले खुसी व्यक्त गरेका छन् ।
‘यसबाट मलाई सुकून मिलेको महसुस भएको छ भने सम्पूर्ण सदस्यलगायत शुभचिन्तकको प्रतीक्षाको घडी पनि सकिएको छ । यहाँहरूले दिनुभएको साथ, सहयोग, सद्भाव र सहानुभूतिले यो काम सम्पन्न गराउन बल मिलेको हो । यहाँहरूको सहयोग र दानबिना यो कार्य सम्पन्न हुने थिएन,’ उनले भनेका छन्।
चाबी बुझ्ने कार्यक्रममा अध्यक्षसहित संस्थापक अध्यक्ष अशोक ल्हेंगे, पूर्वअध्यक्ष जगत प्हच्यु, सचिव भेग च्हाक्ली, कोषाध्यक्ष याम प्हच्यु, तृतिय उपाध्यक्ष डमर टु क्ल्हेप्री, सुवाससिंह लेम्, आमा समूह अध्यक्ष बबिता प्हच्यु र पिताम्बर ल्होँ तमु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित भएर हौसला र सहानुभूति प्रकट गर्ने सबैलाई अध्यक्ष क्या. (रि) डेम बहादुरले धन्यवाद दिएका छन् । यसबारे थप कुराकारी शनिबारको बैठकमा हुने उनले जनाए । घर पैँचोको लागि पूजा गर्न खेगी (पैंडी) लाई दिन हेराउन लगाएको समेत अध्यक्ष क्या रि डेमबहादुरले जनाए ।
पहिले स्थानीयस्तरमा विद्यालय सञ्चालन रहेको भवन तमु प्हे ल्हु संघले किनेको हो । भवन दुई तले रहेको छ । जहाँ ३ सय भन्दा बढी क्षमताको ठूलो हल र मिनी साइजको हलसहित खेल मैदान, बगैंचा र बाहिर तथा भित्र कारपार्क लगायत सुविधा रहेको तमु प्ये ल्हु संघले जनाएको छ ।