कास्की । पोखरा-९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधि सहितको तातोचिसो पानीको सुविधासहितको धारा हस्तान्तरण भएको छ ।
पोखरा-९ का समाजसेवीहरु अमर गुरुङ र अर्जुन मैनालीको संयुक्त पहलमा युभि प्रविधिसहित तातोचिसो पानि आउने धाराहरु गरी निर्माणपश्चात् विद्यालयलाई हस्तान्तरण भएको थियो । कार्यक्रममा स्वागत मन्तव्यका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले कुल ३ ओटा धाराहरुमार्फत विद्यार्थीहरुले सुविधा लिन सक्ने धाराहरु बनाई पानी जस्तो पुनित कार्यमा विद्यालयलाई माया मानेर हस्तान्तरण गर्ने दाताहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार एवम् सिद्द सेतुली प्रतिष्ठान कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले दाताहरुलाई धन्यवाद दिँदै विद्यालयलाई स्थापित गराउन विद्यार्थी, शिक्षक र संरचनामात्र नभई आफ्नै जग्गा हुनुपर्ने मा जनप्रतिनिधि र प्रमुख अतिथिको ध्यानकर्षण गराउँदै बसपार्क व्यवस्थापनपश्चात् विद्यालयको भविष्य कतातर्फ जाला भन्ने वारेमा पनि चासो व्यक्त गरेका थिए ।
सोही क्रममा पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले दाताहरुलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको उत्तरदायीत्व वडाले वहन गर्ने प्रतिबद्धता व्यक्त गरे । बालबालिकाहरुको मौलिक हकअन्तर्गत पर्ने शिक्षा हासिल गर्न उपयुक्त वातावरण सिर्जनाका निमित्त गुणस्तरीय पिउने पानीको पनि महत्वपूर्ण भूमिका रहने समेत धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा मनपा शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सरकारले नि:शुल्क शिक्षाको अवधारणा ल्याए पनि कार्यान्वयनमा चुकेको धरणा राखे । पोखरा मनपाभित्र रहेका जम्मा ५ ओटा आधारभूत विद्यालयहरु मात्रै १५० भन्दा धेरै विद्ययार्थी रहेको मध्ये सहारा पनि १ रहेको तर दरवन्दी व्यवस्थापन गरी विद्यालयलाई प्रदान गर्ने नसकेकोमा दु:ख व्यक्त गरे ।
विभिन्न अभावका बावजुत पनि विद्यालयले शैक्षिक, भौतिक रुपमा क्रमश: उचाई हासिल गरिरहेकोमा स्थानीय तह वि.व्य.स, प्रधानाध्यापक, शिक्षकहरु, अभिभावक, लगायत सम्पूर्ण विद्यालय परिवारलाई कृतज्ञता व्यक्त गरे ।
कार्यक्रमको समापनका क्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बिक्रम थकालीले विपन्न तथा अव्यवस्थित वस्तिका करिब २६० अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि कार्यक्रम विद्यालयमा ल्याउनुभएकोमा दाताहरु द्वय अमर गुरुङ र अर्जुन मैनालीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगी मनहरुको चासो र सक्रियताले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरलाई फड्को मार्न सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथी, जनप्रतिनिधि, सहारा क्लबका पूर्वअध्यक्ष, सहारा क्लबका मानर्थ सदस्य, सहारा क्लब र सहारा युकेका कार्यसमिति पदाधिकारी शिक्षाप्रेमी, विभिन्न संघ सस्थाका अध्यक्ष एवम् पदाधिकारी, शिक्षक, अभिभावक विद्यार्थीहरुको उल्लेख्य उपस्थितिले कार्यक्रम सफल भएकोमा सवैप्रति धन्यवाद व्यक्त गरे ।