काठमाडौँ । पर्यटकीय नगरी पोखराको आर्वाविजय गाउँमा ‘एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस’ को दोस्रो संस्करण सुरु भएको छ । प्रतियोगितामा बेलायतसहित १३ देशका ५९ साइक्लिस्टको सहभागिता रहेको छ ।
प्रतियोगिताका डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपाल, बेलायत, भारत, चीन, सिंगापुर, अमेरिका, अस्ट्रेलिया, इण्डोनेसिया, श्रीलंका, फिलिपिन्स, न्युजील्यान्डलगायत देशका साइक्लिस्टले प्रतिस्पर्धामा भाग लिएका छन् । प्रतियोगिताका डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार साइक्लिस्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्ट्याइने छ । सिनियर, जुनियर र महिलातर्फको इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले यस साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताए । प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रियस्तरका साहसी खेलाडीलाई एउटै मञ्चमा ल्याइ साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको उनको भनाइ छ ।
पोखरा लेकसाइड नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले आर्वामा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले बताए । बुधबार सुरु भएको प्रतियोगिता मंसिर १४ सम्म चल्नेछ ।