पोखरा । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश, पोखराकी कार्यालय प्रमुख शान्ति गुरुङले कार्यालय एवम प्रसारण सेवालाई उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश, पोखराको कार्यालय प्रमुखको पदभार ग्रहण गरेकोमा वरिष्ठ सम्पादक गुरुङलाई बुधबार तमु धिं नेपालको बधाई कार्यक्रममा कार्यालय र सेवालाई उदाहरणीय बनाउन समुदाय, संघ संस्थाहरुको साथ सहयोग एवम् सहकार्यका लागि आग्रहसमेत गरिन् ।
तमु धिं नेपाल, आमा समिति र युवा समितिले कार्यालयमा आई बधाई तथा शुभकामना प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यालय प्रमुख गुरुङले २७ वर्षदेखि सेवामा आफ्नो निरन्तरता, सेवारत रहदैको कार्यालय प्रमुख हुने सपना, समुदाय, कार्यरत सहकर्मीहरु,संघ संस्थाहरुको साथ एवम वातावरण र अग्रजको आशीर्वादले समेत आफूले जिम्मेवारी प्राप्त गरेको बताइन् ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्दै रेडियो, तमु धिं नेपाल र समुदायको सहकार्य गरी अघि बढ्न तमु धि. तयार रहेको बताए । साथै उनले रेडियोमा पहिलो पटक महिला साथै गुरुङ समुदायबाट कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गरेकोमा खुशीका साथ प्रसारण सेवा सबै नेपालीले अपनत्व हुने गरी कार्यालय प्रमुख गुरुङले वातावरण बनाउने विश्वास व्यक्त गरे ।
तमु धि.नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङले बधाई ज्ञापन गर्दै रेडियोलाई युवामैत्री बनाउन सुझावसमेत दिए ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिकी अध्यक्ष पवित्र गुरुङले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयमा पहिलो पटक महिला कार्यालय प्रमुख हुनुभएकोमा गुरुङलाई बधाई दिँदै महिलासहित समग्रताको आवाजलाई रेडियोले मनन गर्ने अपेक्षा गरिन् ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा तमु भाषामै सम्पन्न कार्यक्रमको संचालन तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङले गरेकी थिइन् भने तमु धिं नेपाल, आमा समिति र युवा समितिको तर्फबाट बुके, फूल, खादा, घलेक, क्रमुबाट बधाई ज्ञापन गरिएको थियो ।