काठमाडौँ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा २३६ जनाको उद्धार गरिएको छ । जसमा १७९ पुरुष र ५७ महिला छन् ।
यात्राको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा गरेका थिए । उद्धार कार्य भने असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो ।
प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मंसिर ३ गते अभियानको औपचारिक समापन गरिने जनाइएको छ । समापन कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा हुनेछ ।
उद्धार टोलीले देशका सातैवटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरेका थियो । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक/केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागी थिए ।
आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न गरिसकेको छ । आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका १० हजार ७६४ सहयोगापेक्षी मानिसको उद्धार गरिसकेको छ ।
तीमध्ये चार हजार २१६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनर्स्थापना गरिसकेको छ । ८७७ जनाको सामुदायिक पुनर्स्थापना गरिएको छ ।
पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका एक हजार ९०६ जनालाई संस्थाको २५ वटा सेवा केन्द्रमा आश्रित गराई स्वास्थ्य सेवा दिलाइरहेको छ । हालै उद्धार गरिएका २३५ जनालाई आश्रमका १५ वटा सेवा केन्द्रमा संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ मूल नाराका साथ तेस्रो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सफलतापूर्वक सम्पन्न भएको फाउन्डेनकी अध्यक्ष डोल्माले बताइन् ।
सरकारले आव २०८१/८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्प गर्नुले यस संस्थाको लक्ष्य २०८२ घोषणाका लागि निकै ठूलो आधार निर्माण भएको आश्रमका संस्थापक अध्यक्ष अधिकारीको भनाइ छ ।