काठमाडौं । प्राणघातक रोग क्यान्सर (अर्बुद) बाट थलिएकी गायिका इन्दिरा गोले तामाङलाई बचाउनका लागि भन्दै सहयोग अभियान सुरु गरिएको छ ।
नेपाल तामाङ कलाकार संघको संयोजकत्वमा ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ आरम्भ गरिएको हो । अभियानको सदस्य संस्थामा म्हेन्दोलाफोले फाउन्डेसन र तामाङ डाजाङ रहेका छन् । लोक संगीतमा लामो समयदेखि अनवरत लागिरहेकी गोले दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित छन् ।
आफ्नो आर्थिक स्रोतले भ्याएसम्म उपचार गराउँदै आएकी गोलेको उपचारमा अब ठुलो रकम लाग्ने जनाउँदै देश, विदेशमा रहेका नेपालीहरूमा सहयोगको अपिल गरेको हो । कलाकार संघको उपाध्यक्ष र फाउन्डेसनका सदस्य गोले हाल हरिसिद्धि, ललितपुरस्थित नेपाल क्यान्सर सेन्टरमा उपचाररत छन् ।
संस्थाले जारी विज्ञप्तिमा लेखिएको छ, ‘तपाईँको सानो वा ठूलो कुनै पनि सहयोगले उहाँको स्वास्थ्य लाभको यात्रामा ठूलो परिवर्तन ल्याउन सक्छ । आउनुहोस्, उहाँको सांगीतिक योगदानलाई सम्मान गर्दै यस कठिन समयमा उहाँको साथमा रहौँ ।’
२०४५ सालदेखि विविध भाषा र भाकामा गीत गाउँदै आएकी गोलेले हजारौँ गीत गाइसकेकी छन् । उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत गीत सदाबहार छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छन् ।