पोखरा । सहारा एफसी यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ र उनकी श्रीमती सरिता श्रेष्ठले सहारा फुटबल एकेडेमीको अवलोकन तथा बालकहरूसँग भेटघाट गरेका छन् ।
सोमबार भएको भेटघाट कार्यक्रममा सहारा पोखराका मानार्थ सदस्य लोकबहादुर गुरुङ र मुछेत्र गुरुङको पनि उपस्थिति रहेको थियो । श्रेष्ठ दम्पतीलाई सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले खादा र पुष्प गुच्छाले स्वागत गरेका थिए ।
फुटबलको पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका गुरुङ गोर्खा सेक्युरिटी सर्भिसेस लिमिटेड यूकेका डाइरेक्टरसमेत हुन् ।
एकेडेमीको अवलोकनका क्रममा श्रेष्ठ दम्पतीले बालकहरूलाई खाजा, एकेडेमीलाई एक बोरा चामल र हरिकुमार/सरिता श्रेष्ठ कक्षका लागि एउटा स्टिलको कपबोर्ड उपलब्ध गराएका थिए । श्रेष्ठ र उनको परिवारले एकेडेमी निर्माणका समयमा ३ लाख रुपैयाँ प्रदान गरेका थिए । यस्तै, तातोपानीका लागि सोलार सिस्टम जडान, सहारा अक्षय कोष, सहाराको देउसीभैलो कार्यक्रममा सहयोग तथा पोखरा आगमनका समयमा एकेडेमीको अवलोकन र सहयोग निरन्तर गरिरहेका छन् ।
सोमबार भएको भेटका अवसरमा क्लबका पूर्वअध्यक्षहरू विक्रम थकाली, विरभद्र आचार्य, केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष एवं एकेडेमी संयोजक पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, सह-कोषाध्यक्ष अशोक लालचन र एकेडेमी व्यवस्थापन समितिका सदस्यहरू लिलबहादुर थापा, सुदर्शन रञ्जित र रविन श्रेष्ठको उपस्थिति थियो ।