लन्डन । बेलायती नेपाली बाबुको जन्मदिनको अवसरमा असहाय बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।
ताप्लेजुङ ढुङ्गेसाँघु तेम्बे जन्म भई बेलायतमा कर्मथलो बनाएका शैलेन्द्र वनेम र ममिता लिम्बूका छोरा सुयन वनेमले ५ वर्ष पूरा गरी ६ वर्ष लागेको अवसरमा मंगलबार काठमाडौं तारकेश्वर नगरपालिका १० मनमैजुमा सञ्चालित एकीकृत समृद्धि नेपालमा आश्रित बालबालिकाहरुका लागि मिष्ठान्न भोजन र खाद्यान्न सहयोग गरिएको हो ।
उक्त बालगृह सञ्चालिका समाजसेवी जुनु पुनमगरले सुयन वनेम लिम्बू परिवारले खाना परिकारका साथमा ३० हजार रुपैयाँबराबरको अत्यावश्यक खाद्यान्न सहयोग गरेको जानकारी गराएकी छन् ।
'वनेम लिम्बू परिवारले बाबुको जन्मेकै पहिको वर्षबाट जन्मदिन हरेक वर्ष यिनै बालबालिकाहरुले एकीकृत समृद्धि नेपालमा मनाउने गर्छन्, असाध्यै महान् मनको धनी, यथार्थ र सत्यता बुझ्नु भएको शैलेन्द्र भाइप्रति हामी एकदमै आभारी छौं । हरेक वर्ष जन्मदिन मनाउने सौभाग्य दिनुभएको छ,' सञ्चालिका जुनुले लेखेकी छिन्, 'आज पनि कार्तिक २० गते जन्मदिनमा बालबालिकाहरुलाई खाना परिकारको साथमा ३० हजार बराबर खाद्यान्न किनेर हामाले हस्तान्तरण गरेको छौं ।'
समाजसेवी पुनमगरले सुयनलाई जन्मदिनको लाखौंलाख शुभकामना भन्दै परिवारप्रति आभार प्रकट गरेकी छन् । 'बाबु सुयन ज्ञानी हुनु । धेरै पढ्नु । बेलायतमा हुर्के पनि आफ्नो देशको मातृभूमिको नाम राख्नु, बाबाआमाले मौलिकता सिकाउँदै हुनुहुन्छ । सिक्दै जानू । आयु लामो होस् । रोग नलागोस् । यी अबोध दाजुभाइ, दिदीबहिनीहरुले दिएको आशीर्वाद सधैं लागिरहोस् । धन्यवाद सम्पूर्ण घरपरिवारलाई । आटेको पुगोस् । मनले चिताएको पुगोस् । भगवान् दाहिने रहुन् । कुल पितृले रक्षा गरुन् यही नै आशीर्वाद,' उनले फेसबुकमा लेखेकी छन् ।
सुयनको जन्मदिनको अवसरमा एकीकृत समृद्धि नेपालमा रहेका बालबालिकाहरुले सामूहिक केकसमेत काटेर उनलाई शुभकामना दिएका छन् । सुयनका परिवार भने उपस्थित थिएनन् ।