काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोलको ९२औँ महासभामा सहभागी हुन आइतबार बिहान बेलायततर्फ प्रस्थान गरेका छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन कुँवर बेलायततर्फ प्रस्थान गरेका हुन् ।
National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहसमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानमा भाग लिनेछ ।
महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (WHO) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमतालाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटको सूची (IWOL) तथा निजी संस्थाबीचको सहकार्य, digital evidence मा कानूनी पहुँच, इन्टरपोलको संविधान संशोधनको लागि विभिन्न देशबाट पेस गरिएका प्रतिवेदन, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम जस्ता विषयमा छलफल हुनेछ ।
महासभामा कार्यकारी समितिको रिक्त पदमा निर्वाचनसमेत हुने कार्यक्रम छ ।
साथै प्रहरी कुँवरको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलले मित्रराष्ट्र चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधिसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल तथा द्विपक्षीय बैठक गर्नेसमेत कार्यक्रम छ।