काठमाडौँ । सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै शुक्रबार प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताए ।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछाने संलग्न रहेको ग्यालेक्सी फोरके टेलिभिजनको सञ्चालक कम्पनी गोरखा मिडियामा सहकारीको रकम अनधिकृत रूपमा ल्याइएको औँल्याइएको छ ।
सूर्यदर्शन सहकारीको बचत अपचलनमा पूरक अनुसन्धान गरिरहेको कास्की प्रहरीले यसअघि पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ। जोशी गोरखा मिडियाका तत्कालीन सञ्चालक हुन् ।
समितिले सोही मामिलामा गोरखा मिडियाका अध्यक्ष जीबी राई, सदस्य कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ । राई फरार छन् भने रम्तेल पुर्पक्षका लागि थुनामा छन् ।