काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न तथा संगठित अपराधसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले बताए। लामिछानेविरुद्ध न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो।
लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ जिल्ला प्रहरी परिसरलाई सम्बोधन गरी लामिछानेलाई पक्राउ गरी पठाइदिन अनुरोध गर्दै पत्र पठाएको छ। लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली रास्वपा पार्टी कार्यालय वनस्थली पुगेको छ।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछाने संलग्न रहेको ग्यालेक्सी फोरके टेलिभिजनको सञ्चालक कम्पनी गोरखा मिडियामा सहकारीको रकम अनधिकृत रूपमा ल्याइएको औँल्याइएको छ। सरकारले यो प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
अदालतले लामिछानेबाहेक विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।