काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक सहयोगमा काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत दिइएको छ ।
प्रभावितहरुलाई एनआरएनए आईसीसी टोलीले सोमबार खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामग्री वितरण गरेको हो ।
स्थानीय तहसँग समन्वयपश्चात् वडा नम्बर १ का १२३ परिवार २ का ५३ परिवार ३ का २५ परिवार र १२ मा २०० परिवारलाई राहत वितरण गरिएको एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिइन् । यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।
एनआरएनए टोलीले आइतबार काठमाडौंको दक्षिणकाली र मकवानपुरको सिस्नेरी गरी १ सय २० परिवारलाई करिब एक महिना पुग्ने खाद्यान्न लगायत राहत वितरण गरेको थियो ।
यस्तै बुधबार ललितपूर ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी पूरा भएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।
अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोली उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिकाजका महिला डिआरसी इन्दिरा त्रिपाठी, मनार्थ सदस्य यदुराज पन्थी, आईसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोबिन्द गौतम, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल संघका सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरे अधिकृत रुपक लामिछाने जुनियर अधिकृत निरोज महर्जन लगायत थिए ।