पोखरा । सहारा क्लब पोखराले सहारा बाल आधारभूत विद्यालय पोखरा-९ बसपार्कलाई वार्षिक रूपमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । वार्षिक रूपमा ७५ हजार प्रदान गर्दै आएकोमा यो वर्षदेखि सहयोग रकम बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीले जानकारी दिए ।
बडादसैँ, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वको सन्दर्भमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थकालीले दातृ निकाय डायल नेपालले विगतदेखि विद्यालयलाई एक शिक्षकको तलब र विद्यार्थीलाई खाजाका लागि सहयोग गरेको बताए । उनले संस्थाले विद्यालयलाई थप पाँच वर्षसम्म निरन्तर रूपमा सहयोग गर्ने उल्लेख गरे ।
पोखरा महानगरपालिका- ९ का वडा सदस्य नन्दराम गिरीले शिक्षाको विकासका लागि पूर्वाधारमा लगानी आवश्यक भएको बताए । विद्यालयले निमाविसम्मको अनुमति पाए पनि दरबन्दी नभएको उल्लेख गरे । विद्यार्थीलाई नृत्य प्रशिक्षणमा सहजीकरण गर्न हिमाली सांस्कृतिक परिवारसमक्ष उनले अनुरोध गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जीवनप्रसाद रेग्मीले व्यवस्थापन समिति, शिक्षक र अभिभावकको समन्वयमा विद्यालयको शैक्षिक सुधार भएको जानकारी दिए । उनले महानगरका ३४ विद्यालयमध्ये सहारा चौथो स्थानमा रहेको छ । विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले विद्याको मन्दिरको रूपमा रहेको विद्यालयमा लगानी बढाउन आवश्यक रहेको जानकारी दिइन् ।
कार्यक्रममा सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, क्लबका सल्लाहकार सुनील गुरुङ, टोल विकास समन्वय समिति पोखरा-९ का संयोजक उत्तम जोशी, कृष्ण टोल आमा समूहका अध्यक्ष रुपा केसी, विद्यालयका शिक्षक रुद्रबहादुर कार्की (राजु), सागर पौडेललगायतले सामुदायिक विद्यालयको सञ्चालन तथा व्यवस्थाका समस्याबारे बोलेका थिए ।