काठमाडौँ । नेपालमा भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुकासम्म मृत्यु हुनेको संख्या ८७ जना पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु र ७२ जना बेपत्ता रहेको जानकारी दिए । अरू ३६ जना घाइते भएका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो ।
काभ्रेमा १४ जनाको मृत्यु भएको छ । मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कुल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काभ्रेमा २६ जना बेपत्ता छन् । पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् । कोशीबाट ८५३, मधेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, बागमतीबाट ४९४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।