काठमाडौँ । नेपालमा तीन दिनदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा विपद्का घटना हुँदा ठूलो जनधनको क्षति भएको छ ।
बाढीपहिरोलगायत विपद्मा परी ८ जनाको मृत्यु, ७ जना घाइते र ११ जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी गराएका छन् । पहिरोबाट पाँचथर, सिन्धुपाल्चोक, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।
बाढीपहिरोमा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरोलगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।
ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता
बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उक्त घटना शनिबार बिहान भएको प्रहरी बलले जनाएको छ ।
काठमाडौँको नदी करिडोरका सडक बन्द
काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ । प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिए । मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०:१० बजे आयोजनाको तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए ।