पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिकसत्र २०८१ का लागि विभिन्न जिल्लाका ८७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
‘तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’अन्तर्गत पोखरा फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजको सभाहलमा बिहीबार एक समारोहबीच छात्रवृत्ति प्रदान गरेको हो ।
कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङको पश्चिमी भेगका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । असोज ५ गते शनिबार गोरखा र लमजुङमा वितरण गर्ने तयारी रहेको संस्थाका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए । हालसम्म ४४८ जना विद्यार्थी यस छात्रवृत्ति कार्यक्रमबाट लाभान्वित भइसकेका छन् ।
यस वर्ष १८७ जना विद्यार्थीले छात्रवृत्ति पाइरहेका छन् । कक्षा ९ देखी १२ सम्म लगातार ४ वर्ष छात्रवृत्ति प्राप्त गर्ने कार्यक्रम अनुसार यो शैक्षिकसत्रमा ८४ जना कक्षा ९ का लागि नयाँ विद्यार्थी लिखित र मौखिक परीक्षाबाट प्रतिस्पर्धा गरी छनौट हुन सफल भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सोसल पब्लिक स्कुलका संस्थापक प्रबन्ध निर्देशक खिमबहादुर तमुले आफ्नो क्षमता र दक्षताका कारण विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्न सफल भएको बताए । विद्यार्थीलाई उच्च शिक्षा हासिल गरी राष्ट्रका लागि योगदान पुर्याउने सपना देख्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा चण्डी डाँडा माविका शिक्षक दिप्तीदत्त अधिकारी, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थीहरू सूर्योदय मावि घाम्राङ, लमजुङमा कक्षा ९ मा अध्ययनरत स्वप्निमा तमु, माउन्ट अन्नपूर्ण मावि नदीपुर, पोखरामा कक्षा ११ अध्ययनरत पूर्णिमा तमुले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत मन्तव्य राखेका थिए । सचीव कञ्चन तमुले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि, सल्लाहकार, संस्थापक सदस्य, अक्षयकोष दाता, शिक्षक तथा अभिभावक र विद्यार्थीको उपस्थिति थियो ।