लन्डन । तमु धीं यूकेले १५औँ नेपाली मेलाको समीक्षा बैठक जुममार्फत सम्पन्न गरेको छ । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा ११ सेप्टेम्बर २०२४ मा नेपाली मेला समीक्षा बैठक सम्पन्न भएको हो ।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको बैठकमा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले दिएका थिए । बैठकको सुरुमा १५औँ नेपाली मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले मेलाबारे संक्षिप्त रूपमा प्रस्तुत गरेका थिए ।
‘झिना मसिना कमजोरीका बाबजुद विभिन्न संघसंस्था र व्यक्ति व्यक्तित्वहरूबाट आएको बधाई र धन्यवादका पत्रहरू १५औँ नेपाली मेला सफल भएको भन्ने कुराको द्योतक हो,’ संयोजक गुरुङले बैठकमा भनेका थिए । कोषाध्यक्ष दिलमाया गुरुङले मेलाको आय-व्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
अघिल्ला वर्षमा भन्दा धेरै खर्च भए पनि धेरै मेला भर्नेहरूको सहभागिताले गर्दा खर्च उठाएर पनि केही मुनाफा भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । अध्यक्ष गुरुङले अहोरात्र खटिएर नेपाली मेलालाई सफल बनाउने मेला संयोजक परशु गुरुङलगायत सबै सहयोगीलाई धन्यवाद र आभार प्रकट गरे । उनले सबैलाई बधाई र धन्यवाद दिँदै केही कमी कमजोरीलाई आउँदो नेपाली मेलामा सुधार्ने प्रयत्न गर्नु पर्ने बताएका थिए ।
बैठकमा तमु धीं यूकेका आगामी कार्यक्रमबारे पनि जानकारी दिइएको थियो । जसअनुसार २२ सेप्टेम्बरमा डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ स्मृति दिवस, १९ अक्टोबरमा आजीवन सदस्य रात्रिभोज गर्ने र जसको संयोजक वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ र उपसंयोजक सचिव विमल गुरुङलाई बनाइएको छ । २८ डिसेम्बरमा तमु ल्होछार कार्यक्रम मनाइने निर्णय पनि बैठकले गरेको छ ।
यस वर्षको ल्होछार तमु धीं यूकेको रजत ल्होछार भएको कारणले यस वर्ष विशेष तरिकाले ल्होछार मनाउने निर्णय भएको संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले जानकारी दिए । यस्तै तमु धीं यूकेको वार्षिक मुखपत्र पनि विसेशांकका रुपमा निकाल्ने घोषणा गरिएको थियो । यसको संयोजक शिक्षाविद् तथा तमु धीं यूकेका ट्रस्टी आदर्श तमु एकेन्द्र गुरुङलाई तोकिएको छ ।
उक्त बैठकमा १३औं कार्यसमितिका लागि निर्वाचन मण्डलको पनि घोषणा गरिएको थियो । निर्वाचन मण्डलमा एकेन्द्र गुरुङ संयोजक तथा सल्लाहकार मेजर कृष्ण गुरुङ र सल्लाहकार क्याप्टेन बालकृष्ण गुरुङ सदस्य रहेका छन् । २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशन १४ डिसेम्बरमा गर्ने तय भएको अध्यक्ष हरि गुरुङले जानकारी दिए ।
उक्त बैठकमा अध्यक्ष हरि गुरुङले आमा समूह महासचिव शान्ता गुरुङकी आमा र सल्लाहकार ले. कुसाङ गुरुङका बुवाप्रति शोक मन्तव्यसमेत प्रस्तुत गरेका थिए। दुवैको हालै निधन भएको थियो ।