लन्डन । बेलायत भ्रमणमा रहेका पत्रकारहरु डण्ड गुरुङ र दीलिपाश्री अधिकारीलाई नेपाल पत्रकार महासंघ बेलायत र फोनिज यूकेले सम्मान गरेको छ ।
लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा उनीहरुका लागि बिहीबार साँझ 'स्वागत, सम्मान तथा बिदाइ' कार्यक्रम गरिएको हो । पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष विमला सेनेले गुरुङ र अधिकारीलाई खादासहित मायाको चिनो प्रदान गरिन् । एबीसी टेलिभिजनका सम्पादक गुरुङ फोनिजका निवर्तमान अध्यक्ष र अधिकारी नेपाल प्रेस युनियन उपमहासचिव छन् ।
पत्रकार गुरुङले सम्मानका लागि आयोजकप्रति धन्यवाद दिँदै पत्रकार महासंघ यूके शाखाले महिला नेतृत्व पाउनु उदाहरणीय भएको बताए । उनले बेलायतबाट महासंघ केन्द्रले पनि सिकोस् भन्ने कामना व्यक्त गरे । उनले असोज ५ मा तय नेपाल पत्रकार महासंघको निर्वाचनले समेत महिला नेतृत्व चयन गर्ने आशा व्यक्त गरेका थिए । गुरुङले बेलायत शाखामा पराजित भएपछि असन्तुष्टि राख्नेहरुले अर्कोपटक फेरि अवसर आउँछ भन्ने बुझेर ‘बेलायतका पत्रकारहरु एक ढिक्का छौं’ भन्ने सन्देश दिन आवश्यक रहेकोमा जोड दिएका थिए ।
पत्रकार अधिकारीले लन्डनमा आफ्नो सम्मानप्रति आभार व्यक्त गर्दै पत्रकार महासंघ बेलायतमा देखिएका केही मतभेद निराकरणका लागि नेपाल प्रेस युनियनले महासंघ केन्द्रसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) यूके सहआयोजक समेत रहेको कार्यक्रममा फोनिज यूके अध्यक्ष बम थापा सूर्यवंशी मगरले स्वागत मन्तव्य दिएका थिए । शाखाका महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको कार्यक्रममा तनहुँ समाज यूकेका संरक्षक एवं सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान बेलायतका संयोजक लेख गुरुङले पत्रकारहरुसँग संस्थाले विगतदेखि नै सहकार्य गर्दै आएको स्मरण गरे । उनले शिकारी सरदार वंशुलाई राष्ट्रिय विभूति घोषणा गर्ने पहल भइरहेको जनाउँदै पत्रकारहरुबाट पनि सहयोग अपेक्षा गरे ।
सामाजिक अभियन्ता गणेश इजम र एनआरएनए यूके पूर्वसचिव एवं बुद्धिजिवी डा. मीन रानाभाटले पत्रकारहरुलाई शुभकामना दिँदै निष्पक्ष लेखनमार्फत समाजलाई दिशानिर्देश गर्न सुझाव दिए ।
अध्यक्ष विमला सेनेले कोठामा बसेर केही अराजक मानसिकता भएका ‘कथित’ पत्रकारहरुले शाखाको आधिकारिकतामाथि धावा बोल्ने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरिन् । ‘हामीलाई बेलायतको समाजले स्वीकारेको छ । तर, मानव विकासको उत्कृष्ट नमुना रहेको देशमा अराजक मानसिकता बोकेका केही कथित पत्रकारहरु खुट्टा तान्ने र संस्थालाई बद्नाम बनाउन लागिरहेका छन्’, उनको आरोप थियो । अध्यक्ष सेनेले असन्तुष्टी राख्नेहरुलाई वैचारिक छलफलमा आउन पनि आव्हान गरेकी छन्
। पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेनेको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ समाज यूकेका संरक्षक एवं सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान बेलायतका संयोजक लेख गुरुङ, सामाजिक अभियन्ता गणेश इजम र एनआरएनए यूके पूर्वसचिव एवं बुद्धिजिवी डा. मीन रानाभाट, फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर, पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल, नेपाल पत्रकार संघ बेलायतका केन्द्रीय प्रतिनिधि एवं एभरेस्ट टाइम्सका सम्पादक दुत पुनलगायतको उपस्थिति थियो ।