लन्डन । पोखराकी सविना गुरुङ गाउँमा आमा समूह र युवा क्लबका कार्यक्रममा नृत्य गर्थिन् । सानैदेखि उनको नृत्य सबैले मन पराउँथे । यतिसम्म कि कुनै दिन उनी गइनन् भने समूहका अध्यक्षले लिनलाई घरमा नै पठाउँथे । यसले नै उनलाई लोकदोहोरीमा लाग्न प्रेरित गर्यो ।
-1725554572.jpg)
कास्कीको मादी-२ मा जन्मिएकी सविना कामको खोजीमा थिइन् । “पोखरामा लेकाली दोहोरी साँझ खुलेको कुरा प्रेम गुरुङ दाइले सुनाउनुभयो । तिमी गाउँमा राम्रो गाइरहेको मान्छे, त्यहाँ पनि गाउने मान्छे खोजिरहेका रहेछन्,” सविना भन्छिन्, “त्यसपछि पोखरा झरेर सोही लेकाली दोहोरीमा गाउन थालेकी हुँ।”

उनले यसरी गाउन थालेको दुई दशक भइसक्यो । हातमुख जोड्ने माध्यम नै यही दोहोरी बनेको छ । उनी अहिले भने रुपाहिल दोहोरी साँझ पोखरामा कार्यरत छिन् । रुपाहिलकी प्रस्तोता तथा गायिका उनै हुन् ।
यस दौरानमा देश तथा विदेशमा १०० भन्दा बढी स्टेजमा प्रस्तुति दिएर लोकप्रियता कमाइसकेकी छन् । दर्शक श्रोतामा छाएकी छन् ।

अहिले सांगीतिक भ्रमणका क्रममा बेलायतमा आएकी छन् । बेलायतका विभिन्न शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिइरहेकी छन् ।
सविनाले गुरुङ जातीय चलचित्र ‘पछ्यौरी’ तथा दर्जनभन्दा बढी लोकदोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छन् । सोही संख्यामा गीत पनि गाएकी छन् ।

सन् २०११ मा तमु ल्होसारको अवसरमा तमु धीं यूकेको आयोजनामा भएको कार्यक्रममा बेलायत आएकी थिइन् । सो अवसरमा उनले बेलायतका विभिन्न शहरमा आयोजित सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिएकी थिइन् । सन् २००९ मा हङकङ, सन् २०१० मा दक्षिण कोरियामा सहित देश विदेशमा विभिन्न संस्थाले आयोजना गरेको कार्यक्रममा सम्मानित भएकी छन् ।

हालसम्म दक्षिण कोरिया, हङकङ, बेलायत, आयरल्यान्ड, बहराइन, कतार, जापान, मलेसिया, कुवेत र यूएईको भ्रमण गरिसकेकी छन् ।


-1725554887.jpg)
