लन्डन । बेलायतवासी समाजसेवी शेरबहदुर सुनार ‘मिडिया पर्सनालिटी अफ द इयर-२०२४’ बाट सम्मानित भएका छन् ।
नेपाल ब्रिटेन डटकमको १७औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित विशेष समारोहमा समाजसेवी सुनारलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ आईसीसी अध्यक्ष डा. बद्री केसीलगायतले सम्मान गरे ।
मिलनसार, मृदुभाषी र एनआरएन अभियानमा लामो समयदेखि अहोरात्र खटिएका सेरबहादुर सुनार बेलायतका लोकप्रिय समाजसेवी हुन्।
सुनार भूपू गोर्खा मुद्दा, गैर आवसीय नेपाली नागरिकताको सवाल, बेलायतका नेपालीका हकहित, एनआरएनए कार्यालयजस्ता महत्त्वपूर्ण मुद्दालाई आफ्नो प्राथमिकतामा राखेर सामाजिक क्षेत्रमा सक्रिय छन् । उनी २७ वर्षदेखि बेलायतमा बस्दै आएका छन् ।
सुनारले बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थामा काम गरेका छन। सृजनशील नेपाली समाज यूके र गोर्खाज इन्टेक १९८५ का संस्थापक अध्यक्ष, एनआरएनए बेलायतका पूर्वप्रमुख संरक्षक भइसकेका सुनार हाल सृजनशील नेपाली समाज बेलायत, शिव मन्दिर अल्डरसट, युवा विश्वहिन्दु महासंघ बेलायत र अल्डरसट भलिबल क्लबको संरक्षक छन् । दर्जनभन्दा बढी संस्थामा महत्त्वपूर्ण जिम्मेवारी बहन गरिसकेका छन् । उनी एनआरएनए यूकेमा स्थापनाकाल देखिनै आबद्ध छन् ।
बेलायती सेनामा बर्दीमा १८ वर्ष र त्यसपछि २१ वर्ष बर्दीबिना मिनिस्टरी अफ डिफेन्समा (REME) रोयल इलेकट्रिकल मेकानिकल इन्जिनियरको काम गर्दै आएका छन् । हेल्प नेपाल नेटवर्कको सहयोगार्थ आयोजित परोपकारी कार्यक्रमको उपसंयोजक भएर एकै रातमा १ करोड रुपैयाँ उठाउन सहयोग गरेका थिए ।
सुनारले लमजुङका ठाडो भाकाका शिरोमणि दीर्घराज अधिकारी (भेडिखर्के साइला) को सालिक बनाउन संयोजकको भूमिका निभाएका थिए । त्यतिबेला झन्डै ५ लाख रुपैयाँ पठाएका थिए । सुनारले नेपालमा मात्र नभई बेलायतको ब्रिटिस हार्ट फाउन्डेसनलाई उनकै संयोजकत्वमा १००१ पाउन्ड सहयोग गरेका थिए । अल्डरसटमा पहिलो भीसी कुलबिर थापाको सालिक बनाउँदा लाखौँ पाउन्ड उठाएर उपसंयोजकको भूमिका निभाएका थिए।
समाज सेवा गर्ने क्रममा कोभिड १९ को बेलामा वृद्धा एवं असहाय नेपाली या ब्रिटिस बुवा आमालाई आफ्नै रेस्टुरेन्टमा पकाएर भोजन घरदैलोमा नि:शुल्क उपलब्ध गराएका थिए । त्यसबेला सुनारको सहयोग देखेर डा. कपिल रिजालले १ हजार पाउन्ड दिएका थिए ।
त्यसरी नै सुनारले आफूले अध्ययन गरेको स्कुललाई पनि भुलेनन् । आफै संयोजक भएर लमजुङ विचौरको बागीश्वरी माध्यमिक विद्यालयको पूर्व विद्यार्थीको सहयोगबाट १० लाख रुपैयाँ धरौटी राखेर प्लस टु खोल्न सफल भए । केही वर्षपछि १० लाख रुपैयाँको अक्षयकोष राखेर असहाय र जेहनदार विद्यार्थीको सहयोगी बन्दै त्यो कोषको संरक्षकको अभिभारा पनि लिए।
सुनार २००२ मा आइटिसी थर्ड बटालियन क्याटरिक ग्यारिजनमा बेस्ट नन कमीसन अफिर (एनसीओ) बाट सम्मानित भए। ब्रिटिस हार्टस फाउन्डेसनले २०१७ मा दिएको अवार्ड र कोभिड च्याम्पियन अवार्ड २०२१ बाट पनि सम्मानित भइसकेका छन् ।
यसैगरी, २०१९ मा एनआरएनए बेलायतको उपाध्यक्ष हुँदा संस्थाको सदस्य बनाउने अभिभारा पाएका थिए । त्यसबेला उनले १४ हजार सदस्य बनाएर विश्वकै सबैभन्दा ठूलो एनआरएनए एनसीसी बनाउन सफल भए । २०१७-२०१९ को कार्यसमिति बैठकमा शतप्रतिशत उपस्थित हुनको साथै जिम्मेवारी पूर्ण निभाएका कारण एनआरएनए आईसीसीका प्रमुख संरक्षक शेष घलेको बाहुलीबाट ‘वेस्ट मेम्बर अफ कार्यसमिति १७-१९’ पाए ।
उनी बेलायतमा नेपाली समुदायमा पर्ने दुःखको सारथिका रूपमा होस वा नेपालमा महाभूकम्प वा कोरोना महामारीमा सहयोगीका रूपमा आफूलाई सक्रिय पार्दै आएका छन् ।