पोखरा । सातौँ संस्करणको निट डेन्टल केयर प्रिजेन्ट्स मिस मगर नेपाल–२०२४ का अन्तिम ११ प्रतिस्पर्धीले सेल्फ ट्यालेन्ट राउन्डमा प्रस्तुति राखेका छन् ।
शनिबार होटल पोखरा ग्रान्डमा आयोजित सेल्फ ट्यालेन्ट राउन्डमा अधिकांशले नृत्य प्रस्तुत गरे । केहीले पियानो बजाउने, अभिनय र विषयगत प्रस्तुति राखेका थिए ।
विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै छानिएका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तर्निहित प्रतिभा प्रस्तुत गरेको टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार सेल्फ ट्यालेन्ड राउन्डको निर्णायकमा राहुल थापा मगर, जसु गरुङ र थमनसिंह थापा मगर रहेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दुर्गा सिंह चन्दले युवा पुस्तालाई विदेश पलायन हुने सपना नदेख्न सुझाव दिइन् । आफ्नै देशमा बसेर केही गर्ने सोच बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले पैसालाई मात्रै सबै थोक ठान्न नहुने धारणा व्यक्त गरिन् ।
आफ्नो मातृभाषा, संस्कार, संस्कृतिबारे युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिस मगरको आयोजना गरेकोमा खुशी लागेको जनाउँदै डीआईजी चन्दले मगर समुदायलाई नीति निर्माण तहमा पुर्याउन स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने र महिलाहरू उद्यमशीलता तिर अग्रसर हुनुपर्नेमा जोड दिइन् ।
यस्तै नेपाल मगर संघका केन्द्रीय सल्लाहकार एवं युवा नेता बालकृष्ण काउछाले मगर समुदायको पहिचानलाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै युवा पुस्तामा आफ्नो पहिचानप्रति चासो जगाउनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल मगर संघ, कास्कीका अध्यक्ष राम बहादुर थापाले मिस मगर नेपालको माध्यमबाट मगर जातीको भाषा, भेषभुषा, संस्कार र संस्कृतिलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको र प्रतियोगीलाई देशको नेतृत्व गर्ने जनशक्ति बन्ने गरी अघि बढ्न शुभकामना दिए । मगर समुदायको हितमा हुने कार्यका लागि नेपाल मगर संघ साथमा रहेको उनको धारणा थियो ।
मिस मगर नेपालका कार्यक्रम संयोजक रुद्र श्रीसले कार्यक्रमका बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । एमबी आस्थाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन मिस मगर नेपाल २०२२ की थर्ड रनरअप तथा टिम संयोजक प्रियंका गर्बुजाले गरेकी थिइन् । ‘मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान’ मूल नाराका साथ एसटी क्रिएसनद्वारा आयोजित सातौँ संस्करणको मिस मगर नेपालको ग्रान्ड फिनाले भने यही भाद्र २२ गते होटल पोखरा ग्रान्डीमा भव्य सांस्कृतिक कार्यक्रमसहित हुनेछ ।
कार्यक्रमलाई निट डेन्टल केयर प्रालि आइवा एजुकेसन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एन्ड ट्रेकिङ प्रालि, युमे जापानिज ल्याङवेज, सोल फेसन, परिचय एड्भटाईजिङ, त्रिपुरा लाउन्च, मुग्लान रेस्टुरेन्ट आदीको सहयोग छ । अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट ११ प्रतियोगीले करिब एक महिनासम्म सिकेका कुरालाई ग्रान्ड फिनालेमा प्रस्तुत गर्दैछन् ।
प्रतियोगितामा सुस्मिता पुन, बिनु राना, दिवा पाईजा, कबिता थापा, दिक्षा थापा र उमा पुनको कोरियोग्राफी छ । अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आले (रामेछाप) आशिका गर्बुजा (बेगखोला, म्याग्दी), अनुजा पुन (तंग्राम, बाग्लुङ) नरिशा पुन (मुदी, म्याग्दी), सरिता थापा (मन्थली, रामेछाप), माया दर्लामी (वालिङ, स्याङ्जा), रश्मि आले (गौशाला, महोत्तरी), जानकी राजकोटी (बर्दीबास, महोत्तरी), अश्मिता बुढा (जेल्बाङ, रोल्पा), कृष्टीना पुन (दग्नाम, म्याग्दी) र जेरुशा सारु (काठमाडौँ) रहेका छन् ।
कार्यक्रमको मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्युज र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ ।