लन्डन । ब्रिटिस गोर्खा वेल्फेयर सोसाइटी (बीजिडब्ल्युएस) ले भोटेकोशी बाढीपीडितका लागि संकलित ८ हजार १०० पाउन्ड राहत रकम नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
सोमबार लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा बीजिडब्ल्युएसका अध्यक्ष मे. रि. टिकेन्द्रदल देवान जेपीले राहत रकमको चेक बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरे। उक्त रकम नेपाली रुपैयाँमा करिब १६ लाखभन्दा बढी हुन्छ।
अध्यक्ष देवानले संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिदिन कार्यवाहक राजदूत दुवाडीलाई अनुरोध गरे।
राहत रकमको चेक हस्तान्तरण कार्यक्रममा बीजिडब्ल्युएसका पीआर प्रकाश गुरुङ, कोषाध्यक्ष टेकबहादुर थापा, सदस्यहरु रामधन राई र मिनबहादुर गुरुङको उपस्थिति थियो।
कार्यक्रममा पीआर गुरुङले बीजिडब्ल्युएसको स्थापना, संस्थाको उद्देश्य, हालसम्मका गतिविधि तथा विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिबारे संक्षिप्त जानकारी दिएका थिए।
कार्यवाहक राजदूत दुवाडी र बीजिडब्ल्युएसका प्रतिनिधिबीच करिब एक घण्टा समसामयिक विषयमा छलफल भएको थियो।
छलफलका क्रममा कार्यवाहक राजदूत दुवाडीले नेपाल सरकारका तर्फबाट आफूले भुपू गोर्खाहरुका लागि सक्दो पहल गरिरहेको बताएका थिए। उनले भोटेकोशी बाढीपीडितका लागि सहयोग जुटाएकोमा बीजिडब्ल्युएसलाई धन्यवाद व्यक्त गरे।
