काठमाडौँ । पोखरामा भदौ अन्तिम हप्ता माध्यामिक विद्यालयस्तरीय स्टार्स चित्रकला प्रतियोगिता हुने भएको छ ।
स्टार्स स्टुडियो प्रालिको आठौँ वार्षिकोत्सव तथा स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवका अवसरमा ‘हाम्रो संस्कृति’ शीर्षकमा प्रतियोगिता हुन लागेको हो ।
आयोजकका अनुसार चित्र वाटर कलर, क्रेन, पेन्सिल, पेस्टल, एक्रेलिकलगायत जुनसुकै माध्यमबाट पनि बनाउन सकिने छ । चित्र बनाउन कागज आयोजकले व्यवस्था गर्नेछ भने अन्य आवश्यक सम्पूर्ण सामाग्री सहभागीले नै ल्याउनु पर्नेछ । एउटा विद्यालयबाट बढीमा एक जनाले मात्र सहभागी हुन पाउने छन् । यसैगरी, मौलिक चित्रलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
प्रतियोगितामा सहभागी चित्रमध्ये उत्कृष्ट पाँच जनाको चित्रलाई पुरस्कृत गरिने छ । जसमा प्रथमले १० हजार, द्वितीयले ७ हजार, तृतीयले ५ हजार तथा र सान्त्वना पुरस्कार दुई जनालाई जनही २ हजार ५०० रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता यही भदौ २८ गते पोखरा-१ स्थित अञ्जुली बोर्डिङ स्कुल, पुरानो टुँडिखेलमा बिहान ११ बजेदेखि हुनेछ ।
सहभागी हुन इच्छुक विद्यार्थी वा विद्यालयले भदौ २४ गतेसम्ममा नाम दर्ता गर्नु पर्नेछ । दर्ता शुल्क १०० रुपैयाँ लाग्ने र प्रतियोगिता सम्बन्धी सम्पूर्ण अधिकार आयोजकमा रहने स्टार स्टुडियोले जनाएको छ ।
स्टार्स स्टुडियो प्रालि तथा स्टार्स फाउन्डेसन नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षण र प्रवर्द्धनका लागि कार्यरत छ ।