काठमाडौँ । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका महिला कामदारको संस्था पौरखी नेपालको २२औँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ ।
बिहीबार काठमाडौँमा सम्पन्न साधारणसभाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरेका थिए । सो अवसरमा बेलायत निवासी समाजसेवी पुनम गुरुङलाई पौरखी राजदूतको प्रमाणपत्र प्रदान गरिएको थियो ।
संस्थाको लक्ष्य र मिसनलाई अगाडि बढाउनमा उनको समर्पण र उदाहरणीय सेवाको कदर स्वरूप उनलाई राजदूत बनाइएको अध्यक्ष सत्राकुमारी गुरुङले जनाएकी छन् । पुनम एनआरएनए यूकेका पूर्वअध्यक्ष, तमु धीं आमा संस्थापक अध्यक्ष र बुद्धिस्ट गुम्बा रेडिङको संस्थापक सदस्य तथा सल्लाहकारसमेत हुन् ।
यस्तै, लैंगिक अधिकार तथा नीति विशेषज्ञ चाँदनी जोशी तथा पौरखी नेपालको रणनीतिक सल्लाहकार मञ्जु गुरुङलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री भण्डारीले घरेलु कामदारलाई व्यवस्तित बनाउन सरकार लागि परेको बताएका थिए । वैदेशिक रोजगारमा अधिकांश महिलाहरू घरेलु कामदारमा जाने गरेको भएता पनि उनीहरूलाई तालिम र सूचनाको अभाव रहेको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, पौरखी नेपालका महासचिव सिन्धु अर्याल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बराललगायतले बोलेका थिए ।
पौरखी नेपालले स्थापनादेखि नै विशेष गरी वैदेशिक रोजगारीमा महिलाहरूको पक्षमा वकालत गर्दै आएको छ ।