लन्डन। पञ्चासे हर्पनडाँडा समाज यूकेले अस्ट्रेलियाबाट बेलायत भ्रमणमा आएका हर्पनकोट माविका पूर्वशिक्षक चन्द्रप्रकाश गुरुङलाई स्वागत गरेको छ ।
समाजका अध्यक्ष देवकाजी गुरुङको अध्यक्षतामा अल्डरसटस्थित मलिंगो रेस्टुरेन्टमा भएको कार्यक्रममा करिब २० जनाको उपस्थिति थियो । तमु धीं यूकेले आयोजना गरेको नेपाली मेला भर्न र आफन्त भेटघाटका लागि गुरुङ दम्पत्ती लन्डन आएका हुन् ।
गुरुङले हर्पनकोट माविमा पाँच वर्ष अध्यापन गरेका थिए । सो क्रममा सहायक प्रधानाध्यापक सम्मको जिम्मेवारी सम्हालेका थिए । यस्तै, पोखरा महानगरपालिकामा योजना अधिकृतका रूपमा ६ वर्ष तथा मेयरको स्वकीय सचिव भएर पनि काम गरेका थिए ।
उनले माछापुच्छ्रे एफएफमा तमु भाषाको कार्यक्रम पनि चलाए । सन् २००६ सालमा उच्च शिक्षाका लागि अस्ट्रेलिया प्रवेश गरेपछि परिवारसहित त्यहीँ बसोबास गर्दै आएका छन् । हाल उनी ऐयर फोर्समा कार्यरत छन् ।
युवा अवस्थामै महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका गुरुङ समाज सेवामा पनि सक्रिय छन् । उनलाई बेलायत भ्रमणमा आएको समय गाउँले समाजले सम्मान गरेको अध्यक्ष देवकाजी गुरुङले बताए । सो अवसरमा गाउँलेबीच लामो समयपछिको रमाइलो भेटघाट भएको उनको भनाइ छ ।
अध्यक्ष गुरुङसहित र श्रीमती, उपाध्यक्ष रवि गुरुङ, कोषाध्यक्ष कृष्ण घले, सल्लाहकार मोन गुरुङ र उपस्थित सदस्यले खादा फूल दिएर गुरुङ दम्पतीलाई सम्मान गरे ।
सम्मानपछि गरुङले बेलायतको आवागमन रमाइलो भएको र घरमै जस्तो माया पाएको बताए । ‘फेरि पनि समय मिलाएर गाउँले भेटघाट कार्यक्रममा लन्डन आउने प्रयास गर्नेछु । तपाईंहरूले आफ्नो देश र जनताको लागि गर्नुभएको सेवाको स्वागत गर्दै म पनि भविष्यमा हिस्सेदार बन्नेछु,’ उनले भने, ‘समाजले दिनुभएको माया र हौसला प्रति धेरै आभार प्रकट गर्दछु ।’
कार्यक्रम समाजका महासचिव प्रकाश गुरुङले सञ्चालन गरेका थिए ।