काठमाडौँ । नेपालको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण भएकोमा बेलायत, अमेरिकालगायत ९ देश र युरोपियन युनियनले स्वागत गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै बेलायत, अमेरिका, स्विट्जरल्याण्ड, अस्ट्रेलिया, नर्वे, जापान, फिनल्यान्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले विधेयकको स्वागत गरेका हुन् ।
पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रको खोजी गर्ने विज्ञप्तिमा प्रतिबद्धता जनाइएको छ । निर्णय प्रक्रियामा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने विज्ञप्तिमा उल्लेख छ ।
नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएकोसमेत जनाइएको छ ।
यसअघि बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलले टीआरसी विधेयक प्रमाणीकरण गरेका थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुधबार उक्त विधेयक प्रमाणित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए ।
साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक राष्ट्रियसभाबाट भदौ ६ मा पारित भएको थियो । अब यो विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिनेछ।