पोखरा । बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नेलम्बो नेपालको प्राविधिक सहयोगमा चार दिने निःशुल्क दन्त शिविरको शुभारम्भ भएको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ नाराका साथ सञ्चालन हुने कार्यक्रमको समन्वय पोखरा महानगरपालिका सहरी स्वास्थ्य केन्द्र वडा नम्बर ९ ले गरेको छ ।
उद्घाटनका क्रममा स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक लोचना अधिकारीले दाँतको स्वास्थ्यले मानव स्वास्थ्यका साथै सौन्दर्यता पनि जोडेको हुँदा दन्त शिविर सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गरिन् ।
विद्यार्थी, शिक्षक तथा विव्यस पदाधिकारीलाई लक्षित गरि राखिएको कार्यक्रममा विद्यालयका सल्लाहकार विष्णु सुवेदी र सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले मन्तव्य राखेका थिए ।
कार्यक्रमका विशेष अतिथि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले शिविरमा निःशुल्क रूपमा दाँतको परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको आरसीटी, गिँजाको उपचार मुख र कान सम्बन्धी सचेतना प्रदान गरिने बताए । सोही क्रममा अध्यक्ष देवकोटाले शिविर सञ्चालनको एक महिनापश्चात पन: फलोअप कार्यक्रम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले कक्षा आठमा अध्ययनरत छात्रा मेनुका तामाङलाई ओपीडी नोट हस्तान्तरण गरि दन्त शिविरको शुभारम्भ गरेका थिए । सो क्रममा प्रमुख अतिथि मर्सानीले स्थानीय तहले पनि अब यस किसिमका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
विव्यस अध्यक्ष विक्रम थकालीले नेलम्बोले आफ्नो मोबाइल भेनमार्फत नि:शुल्क सम्पूर्ण सेवा प्रदान गर्ने कार्यक्रमप्रति खुसी व्यक्त गरे । उनले सहयोगी संस्था तथा उपस्थित अतिथिलाई धन्यवाद दिए । सोही क्रममा थकालीले आफ्नो खेलकुद क्षेत्रका विभिन्न पदमा रहेको अनुभव भए पनि शैक्षिक संस्थाको नेतृत्वमा पहिलो पटक रहेको बताउँदै सबैको साथ र सहयोगले विद्यालयलाई अगाडि बढाउन सकिने धारणा राखे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि नन्दराम गिरी, अक्षय कोषदाता, निलम्बो नेपालका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी, सहारा हङकङका प्रतिनिधि, विभिन्न टोल विकास र आमा समूहका प्रतिनिधि, सहारा क्लबका पूर्वअध्यक्षलगायत उपस्थित थिए ।