लन्डन । नेपाली लोकगीतका गायक राजन गुरुङ भन्ने बित्तिकै धेरैले ‘उही खोलीमा पानी’ गीत सम्झिन्छन् । हुन पनि उनलाई यी गीतले सर्वाधिक चर्चाको शिखरमा पुर्यायो । यस गीतबाट नेपाली लोक संगीतमा राजनले बेग्लै पहिचान बनाए । आठ वर्षअघि बजारमा आएको यस गीतलाई बच्चादेखि वृद्धवृद्धासम्मले मन पराए । नेपाली लोक दोहोरी क्षेत्रमा पहिलो पटक युट्युबको करोड क्लबमा परेर गीतले रेकर्ड नै राख्यो ।

त्यसयता पनि थुप्रै चर्चित गीत उनले बजारमा ल्याइसकेका छन् । उनको अर्को गीत चर्चामा छ, ‘साँझको बेला’। ६ महिनाअघि सार्वजनिक भएको यस गीतलाई पनि दर्शकले रुचाएका छन् । गायक राजनले हालसम्म जापान, कोरिया, अस्ट्रेलिया, बेलायत, कतार, मलेसियालगायत देश घुमिसके । सांगीतिक कार्यक्रमका सिलसिलामा उनी पहिलो पटक सन् २०१७ मा र दोस्रो पटक सन् २०१९ मा बेलायत आएका थिए । हाल तेस्रो पटक बेलायतमा छन् । तमु धीं यूकेको निमन्त्रणामा उनी श्रीमती अमृतादेवी गुरुङसँग बेलायत आएका छन् ।

राजनको पुर्ख्यौली घर कास्कीको घान्द्रुक हो । अहिले भने परिवारसँगै नवलपुर झरेका छन् । उनलाई लाहुरे हुने रहर थियो । बेलायती सेनामा भर्ती हुन दुई पटक पोखरा पुगे । अन्तिममा फालिए । त्यसपछि काठमाडौँ गए । कोरिया जाने लहरमा लागे। त्यहाँ पनि सफल नभएपछि घर फर्किए । अनि सुरु भयो सांगीतिक यात्रा ।

२०५८ सालतिर लोक दोहोरीको माहौल सुरु भएको थियो । त्यही मेसोमा उनी काठमाडौँ हानिए । सोह्रखुट्टेको बाडुँली रोधी घरमा दोहोरी गाउन थाले । त्यसपछि गायिका विष्णु माझीसँग मिलेर लोकदोहोरी एल्बम ‘पारि शीतल वनैमा’ ल्याए । अनि लगातार उनका गीतहरू बजारमा आउन थाले । ‘बोली तोते तोते’, ‘दसैँ तिहार आए’ ‘माफ गरिदेऊ सानु’, ‘मै जन्मेको घान्द्रुक गाउँ’, ‘आकाशैमाथि जहाजै उड्यो’लगायत गीत चर्चित छन् । राजनले स्वर भरेका अधिकांश गीत सुपरहिट छन् ।

राजनका गीतमा गाउँघरको जनजीवन, संस्कृति, मौलिक भाका, माया प्रेम समेटिएको हुन्छ । आफू चर्चाका लागिभन्दा पनि खुसी र आत्मसन्तुष्टिका लागि गाउने गायक भएको उनी बताउँछन् । अझै मौलिक र राम्रा गीतहरू ल्याउने उनको रहर छ । अबको वर्ष गुरुङ भाषाका गीत बजारमा ल्याउने योजना छ ।


