काठमाडौं । नेपालको रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–३ मा शनिबार राति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छ भने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।
उक्त गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार शनिबार राति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।
यसैबीच शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् ।
बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ । राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताए ।