
लक्ष्मी गुरुङ : मौलिक भाका एवं गुरुङ मातृभाषाका गीतमा मोडलिङ र अभिनय गर्छिन् । २०५६ साल असोजमा गोरखाको पालुङटार नगरपालिका १० मा जन्मिएकी लक्ष्मी ७ वर्षअघि मौलिक कौडा ‘डालीको फूल’बाट औपचारिकरुपमा यस क्षेत्रमा लागेकी हुन् ।

मध्यम वर्गीय परिवार बुबा मेहरसिं गुरुङ र आमा मुना गुरुङकी जेठी सन्तान लक्ष्मीले त्यसपछि धमाधम अवसर पाइन् । ०७७ मा ‘सिरानचोके चेली’, लोकदोहोरी ‘जाले रुमाल’, चुड्का ‘हे ठूली’मा नृत्य तथा अभिनय गरिन् । विजय लामाको लोकपप ‘हे रिमै’मा लक्ष्मीले अभिनयको मुख्य भूमिका सम्हालिन् ।

लक्ष्मीले विद्यार्थीकालमै कला क्षेत्र अँगालेकी हुन् । लक्ष्मीको क्षमता र इच्छाशक्तिका कारण मौलिक सालैजो ‘लाहुरेको कर्म’, चुड्का ‘झुल्के घाम हेरौंला कान्छा’ लगायतमा अवसर पाइन् भने ०७९ मा आइपुग्दा ‘पूर्णिमाको जून’, ‘माइली’ कौरा/चुड्कासहित दुई दर्जन हाराहारीमा म्युजिक भिडियोमा खेलिसकिन् ।

त्यस्तै गीतकार मिलन तमु र आरके गुरुङको रोधीघर आँगन-३ जाला उमेर कौडा गीत, गायक शितल र अनु गुरुङको लोकगीत ‘तिम्रो माया छ केलाई छैन’मा समेत कला प्रस्तुत गरेकी छन् । आफूलाई यो क्षेत्रमा अघि बढ्न मौलिक गीत, संगीतका कोरियोग्राफर, चलचित्र निर्माता तथा निर्देशक दीप गुरुङको ठूलो देन रहेको सुनाइन् लक्ष्मीले । उनै गुरु दीप गुरुङ निर्देशित ‘नैना’मार्फत चलचित्र क्षेत्रमा डेब्यू गरिन् उनले ।

गोरखामा जन्मिए पनि लक्ष्मीले प्रवेशिका परीक्षा (एसएलसी) भने ०७२ मा पञ्चकन्या माध्यमिक विद्यालय छाउनी काठमाडौंबाट उत्तीर्ण गरेकी हुन् । प्लस टु (कक्षा ११/१२)मा होटल म्यानेजमेन्ट विषय लिएकी लक्ष्मीले कलाकारिताको व्यस्तताले औपचारिक पढाइ अघि बढाउन सकिनन् र कलाकारिताको ‘महाविद्यालय’मा धाइरहेकी छन् । कलाकारितामा लागेको ६/७ वर्षको अन्तरालमै प्रगतिको उचाइ लिएकी लक्ष्मीले केही पुरस्कार र अवार्ड पाएकी छन् ।

उनले गुरुङ भाषाको खनमुले गीतबाट ‘दोस्रो नेपाली आर्टस् कल्चरल म्युजिक अवार्ड २०७८’ र ‘स्टार म्युजिक भिडियो अवार्ड २०७९’ प्राप्त गरेकी छन् । त्यस्तै हरिमाया गुरुङ अध्यक्षमा रहेको पश्चिमाञ्चल साँस्कृतिक केन्द्रबाट सामूहिक र एकल नृत्य प्रस्तुत गर्दा प्रथम भएर पुरस्कारहरु पाएको उनले सुनाइन् । गीत, संगीतको कामको सिलसिलामा गण्डकीका अधिकांश जिल्ला र वाग्मतीका काठमाडौंसहितका ठाउँ घुमेकी लक्ष्मीले नेपालबाहिर सिक्किम, बेलायत भ्रमण गरेकी छन् ।



