पोखरा । मगर जातिको भाषा, धर्म तथा कला संस्कृतिसम्बन्धी अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि ‘मिस मगर नेपाल २०२४’ का प्रतियोगी स्याङ्जाको चित्रे पुगेका छन् ।
एसटी क्रिएसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुने मिस मगर समुदायको भाषा, तथा संस्कृतिसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि स्याङ्जाको चित्रेमा कार्यक्रम आयोजना गरिएको हो ।
ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट मगर समुदायको भाषा, कला, संस्कृतिको अध्ययनको लागि स्याङ्जाको चित्रेमा शुक्रबार र शनिबार अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिइन् ।
मिस मगर नेपाल २०२४ का प्रतियोगीलाई मगर भाषा तथा संस्कृति सम्बन्धी अध्ययन भ्रमण एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै स्याङ्जाको हरिनास गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले मगर समुदायको भाषा, संस्कृति पुस्तान्तरण हुन आवश्यक रहेको बताइन् ।
‘मिस मगर नेपालका प्रतियोगीलाई अध्ययन भ्रमणका लागि यहाँ ल्याउनुभएकोमा हामी खुसी छौँ,’ उपाध्यक्ष रानाले भनिन्, ‘स्याङ्जाको चित्रे मगर समुदायको बाहुल्यता भएको गाउँ हो, यहाँ मगर भाषा, संस्कृति अझै पनि रहेका छन्, मगर भाषा, संस्कृति हामीले पुस्तान्तरण गर्न आवश्यक छ, यस प्रतियोगिताले पक्कै पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणमा सहयोग पुर्याउँछ भन्ने विश्वास लिएको छु ।’
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष एवं भ्रमण संयोजक पवित्रा थापा मगरले मगर समुदायको भाषा, संस्कार–संस्कृति बुझाउन सहयोग पुर्याउने उद्देश्यले चित्रे गाउँलाई रोजेको बताइन् ।
एसटी क्रिएसन म्यानेजमेन्ट एवं मिस मगर नेपालका निर्देशक सुरज थापा मगरले मगर युवतीहरूको नेतृत्व विकाससँगै भाषा, संस्कृति, इतिहास बुझाउन प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
‘मिस मगर नेपाल २०२४ आयोजना गर्दै गर्दा हामी अहिले सातौँ संस्करणको ग्राण्ड फिनालेमा आइपुगेका छौँ, नेपालको विभिन्न जिल्लाबाट २० जना प्रतियोगी छनोट हुनुभएको थियो,’ थापाले भने, ‘विभिन्न चरण पार गर्दै अहिले ग्राण्ड फिनालेका लागि ११ जना अन्तिम चरणमा छनोट हुनुभएको छ, उहाँहरूलाई मगर समुदायको परम्परा, भाषा, संस्कृतिसँगै नेतृत्व तथा व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गरेका हौँ ।’
कार्यक्रममा मिस मगर नेपाल २०२४ का शीर्ष प्रायोजन निट डेन्टल केयर प्रालिका निर्देशक वीरबहादुर राना (विरेन), नेपाल मगर संघ कास्कीका सहसचिव शिव थापा, चित्रेका टोल संयोजक पहलसिंह राना मगर लगायतले बोलेका थिए ।
मिस मगरका प्रतिस्पर्धीलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास, भेषभुषा, कला र संस्कृति लगायतका तालिमसमेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।
मगर समुदायको भाषा, तथा संस्कृतिसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि गएको मिस मगर नेपाल २०२४ का प्रतियोगीलाई हरिनास गाउँपालिका–४ चित्रेका मगर समुदायले रोधिखोलादेखि पिपल डाँडासम्म मगर समुदायको मौलिक कौराहा, झाबुरा, पञ्चेबाजासहित स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रम एसटी क्रिएसन म्यानेजमेन्टका अध्यक्ष मानबहादुर घर्ती (एमबी)को अध्यक्षता, प्रतियोगिता निर्देशक सुरज थापामगरको स्वागत र कार्यक्रम संयोजक रुद्र श्रीस मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुँदै छ । कार्यक्रमको मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्युज र मगर संसार फोटो ग्यालरी रहेको छ ।