लन्डन । केही वर्षयता युट्युबमा ‘लाइभ दोहोरी’को बाढी नै आएको छ । दिनैपिच्छे लाइभ दोहोरी सार्वजनिक भइरहेका छन् । लाइभ दोहोरी हेर्ने दर्शकको संख्या पनि उल्लेख्य हुने गरेको छ । यी दोहोरी गाउने कलाकारले पनि चर्चा कमाएका छन् । यसमध्ये एक हुन् रेजिना परियार ।
उनी लाइभ दोहोरीमा चर्चामा रहेकी गायिका हुन् । हाल दैनिक तीन–चार वटा लाइभ दोहोरी रेकर्ड हुने गरेको उनी सुनाउँछिन् । रेजिनाको गायकीलाई तारिफ गर्नेहरू धेरै छन् । अनुशासित, सभ्य पहिरन, मिलनसार, सुमधुर स्वर र सरल शब्द संयोजनमा दोहोरी प्रस्तुत गर्छिन् । पछिल्लो समय लाइभ दोहोरीमा भ्याइनभ्याइ रहेको रेजिनाले सुनाइन् ।
‘सुन्दर बजार कटेसी कुन्छा’ र ‘घुम्ती घुम्ती रोड’ गीतले उनलाई नयाँ उचाइ दिलाएका छन् । युट्युबमा यी गीत सर्वाधिक रुचाइएका छन् ।
रेजिनाले दुई दशकअघि औपचारिक रूपमा सांगीतिक यात्रा सुरु गरेकी थिइन्। पहिलो पटक स्टुडियो छिर्दा अनौठो लागेको थियो। २०५९ सालमा गायक सागर गुरुङसँग काठमाडौँ डिजिटलमा ‘बस्यो दिन बोलीमा’ रेकर्ड हुँदा मन फुरुंग भएकी थिइन्। ‘अब गायिका बनियो भनेर मनमा छुट्टै अनुभूति भएको थियो,’ उनी भन्छिन्, ‘तर यो क्षेत्र बुझ्दै गयो उति जटिल रहेछ ।’
रेजिना गोरखाको बारपाक सुलिकोट–७ गैरीछापमा जन्मिएकी हुन् । दर्जनौँ प्रतियोगितामा उत्कृष्ट गायिका, अनुशासित गायिकाको उपाधि जितिसकेकी छन् । मौलिक गायिकातर्फ २०२१ मा स्टार इन्टरनेसनल अवार्ड, म्युजिक खबर अवार्ड, इन्फझ नेपाल फ्रेन्डसिप अवार्डलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रय अवार्ड जितेकी छन् । यिनै अवार्ड, पुरस्कार र दर्शक/स्रोताको मायाले गायनमा प्रोत्साहन मिलेको छ । गोरखाको गाउँमा नै रोधी बसेको अनुभव धेरै छ उनीसँग । रोधीमा गाएका गीत नै पहिलो सांगीतिक खुड्किला थिए ।
काठमाडौँ प्रवेशसँगै प्रतियोगितामा सहभागी हुँदै आएकी उनले १००० भन्दा बढी गीत स्टुडियोमा रेकर्ड गराइसकेकी छन् । लाइभ दोहोरीमा ८०० भन्दा बढी गीत गाएकी छन् । ‘माया जाने दाङ सल्यान’, ‘चियाबारीमा’, ‘फूल राम्रो फूलकै बासनाले’, ‘माया माया भनेर’, ‘जोडी ढुकुर’, ‘थोरै माया’लगायत गीतमा उनले स्वर दिएकी छन् ।
हाल काठमाडौँ नयाँबसपार्कस्थित सोल्टिनी दोहोरी साँझमा सांगीतिक दोहोरी गाउँछिन् । दोहोरी साँझ एउटा कलाकारका लागि विद्यालय भएको उनको बुझाइ छ। ‘जहाँबाट धेरै कलाकार उत्पादन हुन्छन् । वाद्यवादक उत्पादन हुन्छन् र कलाकारलाई रोजीरोटी पनि मिलेको हुन्छ,’ उनले भनिन्, ‘एकातिर आम्दानी र अर्कोतिर दैनिक दिइने प्रस्तुतिले कलाकारिताको यात्रालाई सुदृढ बनाइरहेको छ ।’
हाल संगीतिक भ्रमणको क्रममा रेजिना बेलायत आएकी छन् । गोरखा जिल्ला समाज यूकेको निमन्त्रणामा २० जुलाईमा समाजको भेटघाटको अवसर पारेर बेलायत आएकी हुन् । यसअघि संगीतिक भ्रमणका क्रममा हङकङ, भारतलगायत देशमा प्रस्तुति दिइसकेकी छन् ।