काठमाडौँ । प्रतिनिधिसभाबाट संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक पारित भएको छ । सभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो।
विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए। बैठकमा यस विधेयकमाथि सांसदले आ-आफ्ना धारणा राखेका थिए।
विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो। समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।
यसैबीच, प्रतिनिधिसभा सदस्यहरूले टीआरसी विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् । सत्तापक्षको मुख्य सचेतक महेश बर्तौलाले मेलमिलापको बाटो तय गरेर दिगो शान्ति स्थापनाको उद्देश्य पूरा गर्ने सामर्थ्य बोकेको विधेयक पीडितमैत्री रहेको बताए ।
अर्का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले टीआरसी विधेयक विश्वको अनुकरणीय र उच्चस्तरको विधेयक रहेको बताए । प्रतिनिधिसभा सदस्य हितराज पाण्डेले समाजमा शान्ति स्थापना गर्नका लागि तथा बेपत्ता भएको योद्धालाई सार्वजनीकिकरण गर्नका लागि ढोका खुलेको प्रतिक्रिया दिए ।
प्रतिनिधिसभा सदस्य मनिष झाले पनि टीआरसी विधेयक पारित हुँदा देश अगाडि बढ्दै गरेको सन्देश दिएको प्रतिक्रिया दिए । प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अब पीडितले उचित न्याय पाउनुपर्नेमा जोड दिएका थिए ।