लन्डन । बेलायतमा क्रियाशील नेपाली कानुन व्यवसायीहरुको संस्था ‘ब्रिटेन नेपाल लयर्स एशोसिएसन’को अध्यक्षमा सोलिसिटर दीपक भट्टराई चयन भएका छन् ।
शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटीमा सम्पन्न एशोसिएसनको चौंथो अधिवेसनले सोलिसिटर भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सर्वसम्मत निर्वाचित कार्यसमितिमा उत्तरमान तिगेला उपाध्यक्ष, जिनिता पन्धक सचिव, प्रकाश पोखरेल सहसचिव, सरिता मगर कोषाध्यक्ष, रोजन भण्डारी सहकोषाध्यक्ष तथा विष्णु बुढाथोकी र विपिन रेग्मी सदस्य छन् ।
नयाँ समिति निर्वाचनको प्रक्रियामा निर्वाचन आयुक्तको भूमिका बुद्धिजीवी शिवजी श्रेष्ठले निर्वाह गरेका थिए । एशोसिएसनका निवर्तमान अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा झन्डै तीन दर्जन बेलायतस्थित नेपाली कानून व्यवसायी सहभागी थिए ।
नवनिर्वाचित अध्यक्ष भट्टराई बेलायतमा स्थापित नेपाली कानून व्यवसायी हुन्। झन्डै १४ बर्षदेखि यस पेशामा आवद्द उनले बेलायतस्थित नेपाली कानून व्यवसायीहरुको संगठन, क्षमता विकाससंगै स्थानीय नेपाली समुदायसँगको सहयोग र सहकार्य प्रवर्द्धन हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
अध्यक्ष भट्टराईले बेलायत र नेपालको परिवर्तित कानूनबारे नियमित सेमिनार, नयाँ सोलिसिटरहरुलाई सुझाव सल्लाह र आवश्यक सहयोग गर्ने अठोट पनि व्यक्त गरे । नयाँ नेतृत्व चुन्नु अघि प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्य, प्रा. डा. सूर्यप्रसाद सुवेदी (केसी), ब्यारिस्टर राफेल जेसुरम र केसी टिम बार्न्सले कानून र बेलायत नेपाल सम्बन्धका विभिन्न आयामबारे मन्तव्य दिए ।
प्रमुख अतिथी राजदूत आचार्यले बेलायत नेपाल सम्बन्ध, बेलायतले नेपालको आर्थिक तथा भौतिक पूर्वाधार विकास, न्यायिक प्रणाली सुधार र नेपालमा ब्रिटिश लगानीका सम्भाव्यता आदिबारे बताए । गोर्खा मुद्दामा लामो अनुभव संगालेका ब्यारिस्टर राफेलले भूतपूर्व गोर्खा र उनीहरुलाई न्याय तथा मानवअधिकार सम्बन्धमा आफ्नो विचार राखेका थिए ।
प्रा. डा. सुवेदीले बेलायत नेपाल सम्बन्ध र विभिन्न सन्धि, बेलायतको प्रजातान्त्रिक मूल्य मान्यता तथा नेपालमा बेलायती लगानीका कानूनी पक्षबारे व्याख्या गरे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष वरिस्ठ अधिवक्ता गोपाल कृस्ण घिमिरे र बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेल जुममार्फत नेपालबाट जोडिएका थिए । घिमिरे र पोखरेलले गैर आवासीय नेपालीको दोहोरो नागरिकता, विदेशबाट ज्ञान र सीप हस्तान्तरण, वैदेशिक लगानी आदि पक्षबारे बोले ।
कार्यक्रम निवर्तमान महासचिव तथा अधिवक्ता अमृत खरेल र सचिव जिनिता पन्धकले सन्चालन गरेका थिए ।