लन्डन । बेलायतमा एक सातादेखि चर्किएको आप्रवासी विरोधी दंगा बिहीबारबाट सुस्ताएपछि पसलहरु खुल्न थालेका छन् भने मानिसहरुको चहलपहल बढेको छ ।
बुधबार राति एक सयभन्दा बढी ठाउँमा हुने भनिएको प्रदर्शन उग्र हुने ठानेर ६ हजार अतिरिक्त प्रहरी परिचालन तथा आप्रवासी विरोधी समूह र उनीहरुलाई प्रतिवाद गर्न कयौं सहरमा 'काउन्टर' र्याली भएपछि दक्षिणपन्थीहरु पछि हटेका हुन् । तर बिहीबार साँझ एक आकस्मिक कोब्रा बैठकपछि प्रधानमन्त्री किअर स्टारमरले देशभर सम्भावित अशान्ति हुन सक्ने भन्दै पुलिस उच्च सतर्कतामा रहनु पर्ने बताएका छन् । प्रधानमन्त्रीले दंगामा संलग्नहरूलाई द्रुत सजायका लागि पुलिसको प्रशंसासमेत गरे ।
दक्षिणपन्थी समूहहरूले आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर एक साता यता प्रहरी र निजी सवारी साधन जलाउने, मस्जिदहरु तोडफोड गर्ने र पसल लुटपाट गरेका थिए ।
नेपालीहरुको उल्लेख्य बसोवास रहेको अल्डरसट शहरका नेपाली समुदाय पनि काम र व्यवसायमा फर्केका छन् । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका अध्यक्ष मान गुरुङले एक साता त्रासमै बितेको तर बिहीबारबाट परिस्थिति सामान्य बनेको बताए ।
उनले भने, 'नर्मल छ । तर सबैलाई थाहाा छ, एकचोटी कुनै इन्सिडेन्ट भएपछि त्यसको इफेक्ट केही समयसम्म रहिरहन्छ । आज (बिहीबार) साँझ सबै पसल खुलेको छ । प्लाइउडहरु सबै निकालिसक्यो मानिसको चहलपहल अलि कम हो कि भन्नेछ । मौसमले गर्दाखेरी पनि होला । मान्छेको साइकोलोजीमा असर अझै बाँकी नै छ ।'
विलिङटन काउन्टीका काउन्सिलर धनबहादुर सार्कीले पनि स्थिति सामान्य बन्दै गएको बताए । 'आजदेखि ब्याक टु नर्मल भएको छ । बिजनेसहरु सबै नै सञ्चालन भएको छ,' उनले भने, 'र पनि म नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई भन्न चाहन्छ, अझै सचेत रहनु होला । आफ्नो सुरक्षा आफैं गर्नु होला । केही भन्न सकिँदैन, जे पनि हुन सक्छ ।'
एम्पायर हल अल्डरसटका प्रोपाइटर पुरन गिरीले पनि अहिले आत्तिनु पर्ने अवस्था नरहेको बताए । उनले गत शनिबार ४ सय जनाको एउटा पार्टी रद्द भएको जनाउँदै नेपालीका व्यवसाय झन्डै ९० प्रतिशत बन्द भएर आर्थिक नोक्सानी परे पनि मानवीय वा भौतिक क्षति भने हुन नपाएको बताए ।
गत २९ जुलाईमा उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा एक १७ वर्षीय युवाले छुरा प्रहार गरेर ६, ७ र ९ वर्षका तीन बालिकाको हत्या गरेपछि हिंसा फैलिएको थियो । प्रहरीले बालिका हत्या गर्ने संदिग्ध युवा बेलायतमा जन्मिएको जनाएपनि दक्षिणपन्थीहरूले ति युवा शरणार्थी र मुस्लिम भएको हल्ला फैलाए । त्यसपछि आप्रवासी र मुस्लिम विरोधी प्रदर्शनहरु हिंसामा परिणत भएको थियो। एक दशक यताकै सबैभन्दा उग्र ठानिएको हिंसात्मक दंगा लन्डन, म्यानचेष्टर, लिभरपुल, सन्डरल्याण्ड, हल, ब्रिस्टोल, बेलफाष्ट, साउथपोर्ट, रोदरम, लिड्स, डरहाम, बोल्टन, मिडल्सब्रा लगायत दर्जनौँ सहरमा फैलिएको थियो ।
आन्दोलनकारीहरुले गत आइतबार शरणार्थीहरू बसेका उत्तरी इङ्गल्याण्डमा अवस्थित दुई होटलमा आगो लगाइदिएका थिए ।एक साताको घट्नामा झन्डै १५६ प्रहरी अधिकृत घाइते भएका जनाइएको छ । हिंसात्मक दंगामा सामेल भएको भन्दै बिहीबार दिउसोसम्म ४ सय ८३ जनालाई गिरफ्तार र करिब १ सय ४९ जनालाई अभियोग लगाइएको नेशनल पुलिस चिफ्स काउन्सिलले जनाएको छ । तर, यो संख्या बढ्ने अनुमान छ । हिंसा मच्चाएको आरोपमा बिहीबारसम्म १५ जनालाई जेल सजाय दिइएको छ ।
लन्डनस्थित नेपाली दूतावासले मंगलबार एक अपिल जारी गर्दै बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका सबै नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको थियो ।
यस्तै एनआरएनए युकेले पनि सचेत रहन आग्रह गरेको थियो ।