लन्डन। आदिवासी जनजाति महासंघ बेलायतले ३०औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस आइतबार धूमधामका साथ मनाएको छ ।
अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा ४ अगस्ट २०२४ मा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको महासंघ बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताए । कार्यक्रम महासचिव फ्रम दुरा र सचिव मेजर इन्द्र प्रसाद राईले सञ्चालन गरेका थिए । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गंगामाया गुरुङले राखेकी थिइन् ।
संविधानसभा सदस्य तारा राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका प्रतिनिधि रामबाबु नेपाल, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेमगाहा मगर, आदिवासी जनजाति महासंघ नेपालका पूर्वसचिव भक्तबहादुर दुरा, गोर्खा भूतपूर्व सैनिक संगठनका सभापति तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार राई, गोर्खा सत्याग्रहका संयोजक कृष्णबहादुर राई, आदिवासी जनजाति महासंघ बेलायतका संस्थापक अध्यक्ष थर्क राना, पूर्वअध्यक्ष सिरी प्रसाद लिम्बू, पूर्वअध्यक्ष जंग सुनुवार र निवर्तमान अध्यक्ष कर्मपहाडी शेर्पाको उपस्थिति थियो।
यसैगरी, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरू डा. सुमाया राई, एकेन्द्र गुरुङ, विश्वदिप तिगेला, तमु धीं बेलायतका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, गैर आवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष सुशीला राई, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष विमला सेने, फोनिज बेलायतका पूर्वअध्यक्ष गोमा रानालगायत पनि उपस्थित रहेको संस्थाले जनाएको छ ।
आदिवासी जनजाति महासंघ बेलायतका जातीय सदस्यको तर्फबाट तमु धीं बेलायतका अध्यक्ष हरि गुरुङ, मगर संघ बेलायतका अध्यक्ष सिता पुन, किरात राई यायोक्खा बेलायतका प्रतिनिधि श्री प्रसाद राईका साथै विभिन्न जातीय र क्षेत्रीय संगठनबाट प्रतिनिधिहरू सहभागी थिए ।
तमु धीं युकेको वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, महासचिव डा. विशाल गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको पनि उपस्थिति थियो । अध्यक्ष राईले कार्यक्रम सङ्ख्यात्मक नभए पनि गुणात्मक रहेको र अधिकतम सफल भएको बताए । सुरुआतमा थप कार्यसमिति र सल्लाहकारलाई बधाई तथा स्वागत गरिएको थियो । स्वागत मन्तव्य लगत्तै अध्यक्ष राईले क्रमभंगताको शब्द उद्धृत गर्दै ‘आदिवासी जनजाति महासंघ बेलायतको आजको हाम्रो आवश्यकता’ विषयमा अवधारणा पत्र प्रस्तुत गरे ।
अवधारणा पत्रमा अध्यक्ष राईले तत्कालीन आवश्यकता र अपरिहार्यताका मुख्य विषय; महासंघको महत्त्व, पहिचान, सम्मान, स्थानीय कानून र सरकारसँग आबद्धता र आधिकारिकताबारे विस्तृत रूपमा प्रस्तुति राखेका थिए । विशेष गरेर सबै जातीय संगठनको वार्षिक कार्यक्रम सकेसम्म फरक-फरक मितिमा राखेर कार्यक्रम सफल बनाउने र ‘deconflict principle’ प्रयोग गरी सबै जातीय संगठनको संयुक्त भित्तेपात्रो निकाल्ने, बैंक खाता तुरुन्तै खोलिनु पर्ने, आदिवासी सांस्कृतिक मेला वार्षिक रूपमा सम्पन्न गर्ने विषयमा जोड दिएका छन् ।
यसैगरी, महासंघलाई परोपकारी संस्था वा सामुदायिक हित कम्पनीमा दर्ता गर्नुपर्ने, सबै सदस्य संगठनलाई आर्थिक, नैतिक र भार वहनको जिम्मेवारी दिइनु पर्ने उनको जोड थियो । दीर्घकालीन आवश्यकतामा नेपाली नागरिकताको निरन्तरता, भूतपूर्व गोर्खा सैनिकका समस्याका पहलकदमीलाई थप सहयोग साथै अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध हुँदै आदिवासी जनजातिको पहिचान, संस्कार, संस्कृति र समान हकहितका विषयको सुरक्षा र सुनिश्चितताको लागि पहल गर्ने जस्ता विषयमा विस्तृत विचार राखेका थिए ।
कार्यक्रमको आकर्षणका रूपमा हरेक वर्ष प्रदान गरिने आदिवासी जनजाति महासंघ बेलायत वर्ष पुरुष र वर्ष महिलाको पहिचान साथै सम्मान गरिएको थियो । उक्त सम्मान पुरुषतर्फ पूर्वअध्यक्ष तथा सल्लाहकार सिरी प्रसाद लिम्बूलाई दिइएको छ । महिलातर्फ पूर्व महासचिव तथा सल्लाहकार विमला सेनेलाई दिइएको थियो ।
यस्तै, महासंघलाई अधिकतम सहयोग गरी सर्वोकृष्ट योगदान पुर्याउने तमु धीं बेलायतका पूर्वअध्यक्ष ज्ञाम गुरुङलाई विशेष सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई प्रमुख अतिथि तारा राई र अध्यक्ष मेजर राईले फेटा, खादा र ट्रफीले सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका नवनिर्वाचित अध्यक्ष विमला सेनेसहित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । सो अवसरमा उनीहरूलाई फेटा र खादा ओढाएर सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा तमु धी बेलायतले स्वागत नृत्य र किरात राई यायोक्खा बेलायतले साकेला सिली प्रदर्शन गरेका थिए भने गायिका जानुका राईले ‘राई माइलाले गाउँ छोड्यो रे’ र बिना राईले गुरुङ भाषाको गीत गाएर कार्यक्रममा थप रौनक थपेका थिए ।